करिअरको शिखरमा रहेका सन्दिप लामिछानेको ‘डाउनफल’

दामोदर नेपाल
२२ भदौ २०७९ १५:२२

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि बलात्कार जस्तो जघन्य अपराध गरेको आरोप लागेको छ। मंगलबार १७ वर्षकी किशोरीले आफूलाई लामिछानेले होटलमा लगेर पटक पटक बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिने तयारी अगाडि बढाइसकेको छ। यससँगै उनलाई उनी रहेको देशको स्थानीय प्रहरी वा इन्टरपोलको सहयोगमा नेपाल ल्याउने तयारी पनि सुरु भइसकेको छ। उनी क्यारेबियन प्रिमियर लिग खेल्न गएका छन् र अहिले सेन्ट लुसियामा छन् ।

नेपाल प्रहरीले उनको निगरानी पनि सुरु गरिसकेको छ। नेपाली क्रिकेटका सबैभन्दा चर्चित स्टारमाथि यसरी गम्भीर आरोप लाग्नुले नेपाली क्रिकेट फ्यानहरुलाई पनि ठूलो धक्का लागेको छ।

लामो संघर्षपछि अस्थायी रुपमा एकदिवसीय मान्यता पाउने अवस्थासम्म पुगेको नेपाली क्रिकेटलाई यो अवस्थामा पुर्याउन उनको उल्लेख्य योगदान थियो। र, आगामी दिनमा उनीबाट अझै धेरै योगदान हुन सक्ने अपेक्षा गरिएका बेला उनीमाथि लागेको जघन्य आरोपले धेरै प्रश्नहरु खडा गरेको छ।

सन्दिप लामिछाने अहिले मात्रै २२ वर्षका छन्। क्रिकेटरहरुले ४० वर्षको उमेरसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उदाहरण प्रशस्तै भएको अवस्थामा उनीसँग कम्तीमा पनि डेढ दशक खेल करिअर अझै बाँकी रहेको मान्न सकिन्छ।

यति लामो खेल करिअरमा धेरै कुरा गर्न सकिने सम्भावनाहरु हुन्छन्। उनले क्रिकेट खेल जगतमा धेरै रेकर्डहरु बनाइसकेका छन् र अरु धेरै रेकर्डहरु भविष्यमा बनाउन सक्छन्। तर, अहिलेको अवस्थामा अबका दिनमा ती कुराहरु सहज होलान् कि नहोलान् भन्ने प्रश्न उठेको छ।

२१ वर्षकै उमेरमा नेपाली राष्ट्रिय टोलीका कप्तान बनेका उनी एकदिवसीय क्रिकेटमा विश्वकै छैटौं सबैभन्दा कान्छा र टि-२० अन्तर्राष्ट्रियमा १० औं सबैभन्दा कान्छा कप्तान हुन्।

कानुनी राज्यमा आरोप लागिसकेपछि त्यसको सत्य तथ्य अनुसन्धान हुनै पर्छ। यसको लागि अब नेपाल क्रिकेट संघले उनलाई तत्काल कप्तानबाट निलम्बन गरी अनुसन्धानमा सहयोग गर्नुको विकल्प छैन।

एकदिवसीय क्रिकेटमा लगातार ३ इनिङमा ४ विकेट लिएर लगातार सबैभन्दा धेरै इनिङमा ४ विकेट लिने बलरको विश्व किर्तिमान बनाएका उनी विश्वमै एकदिवसीय क्रिकेट र टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वोत्कृष्ट करिअर स्ट्राइक रेट भएका खेलाडी हुन्।

सन्दिप २२ इनिङमै ५० विकेट लिएर एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ५० विकेट लिने दोस्रो बलर हुन्। यसमा उनीभन्दा अगाडि १९ इनिङमा ५० विकेट लिएका श्रीलंकाका अजन्था मेन्डिस मात्र छन्।

एकदिवसीयमा २९ इनिङमा ६९ विकेट लिएका उनले सबैभन्दा छिटो ४४ खेलमा १०० विकेट लिएका अफगानिस्तानका राशिद खानको रेकर्ड पनि तोड्ने अवसर छ। टि-२० अन्तर्राष्ट्रियमा २९ इनिङमा ५० विकेट लिएका उनी सबैभन्दा छिटो ५० विकेट लिने बलरको सूचीमा तेस्रो हुन्।

यो सूचीमा उनीभन्दा अगाडि २६ इनिङमा ५० विकेट लिएका श्रीलंकाका अजन्था मेन्डिस र २८ इनिङमा ८० विकेट लिएका आयरल्याण्डका मार्क अडायर मात्र छन्।

टि-२० अन्तर्राष्ट्रियमा ४४ खेलमा ८५ विकेट लिइसकेका उनीसँग सबैभन्दा छिटो ५३ खेलमा १०० विकेट लिने अफगानिस्तानका राशिद खानको रेकर्ड तोड्ने अवसर पनि छ। धेरै अवसर र धेरै आशा रहेका स्टार खेलाडीमाथि यसरी गम्भीर अभियोग लाग्नुले नेपाली क्रिकेटको भविष्यमा धेरै प्रश्नहरु उब्जाएको छ।

कानुनी राज्यमा आरोप लागिसकेपछि त्यसको सत्य तथ्य अनुसन्धान हुनै पर्छ। यसको लागि अब नेपाल क्रिकेट संघले उनलाई तत्काल कप्तानबाट निलम्बन गरी अनुसन्धानमा सहयोग गर्नुको विकल्प छैन।

अभियोग लागिसकेपछि सफाइ नपाउँदासम्म उनलाई राष्ट्रिय टिममा राखेर खेलाइरहनु पनि नैतिकताको दृष्टिले उचित देखिँदैन। दोषी ठहरिए त कानुनी कारवाहीको अर्को विकल्प छँदैछ। यससँगै उनको व्यक्तिगत करिअरमा त ठूलो बादल लागेको छ नै यसले नेपाली क्रिकेटलाई पनि केही समयको लागि हल्लाउनेछ।

नेपालको राष्ट्रिय टोलीको प्लेइङ ११ मा उनको निश्चित ठाउँ छ जुन ठाउँ सहजै भर्न कठिन छ। टोलीमा धेरै युवा खेलाडीहरु आएका छन् तर ती खेलाडीबाट सन्दिपबाट जति अपेक्षा गर्न सकिने अवस्था अहिल्यै देखिँदैन।

यस्तोमा केही समय नेपाली क्रिकेट पनि केही धर्मराउने जोखिम कायमै छ। सन्दिपमाथि अहिले यति गम्भीर आरोप लाग्नु उनको आकाशिँदो करिअरको अकस्मात डाउनफल सुरु हुनु हो भन्दा फरक नपर्ला।

उनको करिअर तीब्र गतिमा माथि गइरहेको थियो र अझै उनी उत्कर्षमा पुग्न बाँकी नै थियो। तर, यो अवस्थामा उनलाई लागेको यो आरोपले त्यो गतिमा बलियोसँग ब्रेक लगाइदिएको छ र अब उनको करिअर त्यसरी अगाडि बढ्ला भन्नेमा शंका गर्ने ठाउँ धेरै देखिएको छ।

१४ वर्षको उमेरमा तत्कालीन नेपाली टिमका कोच पुबुदु दासानायमेले चितवनमा फेला पारेर ल्याएका सन्दिपले त्यसयता निकै छिटो उचाइ हासिल गर्दै गएका थिए ।

२०१६ मा हङकङ टि-२० ब्लिट्जमा खेल्दै गर्दा अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको नजरमा परेका उनलाई क्लार्कले अस्ट्रेलियामै लगेर प्रशिक्षण समेत दिएका थिए।

२०१६ मा बंगलादेशका अण्डर १९ विश्वकप खेल्ने क्रममा आयरल्याण्डविरुद्ध ५ विकेट लिएका उनले पूरा प्रतियोगितामा ६ खेलमा १४ विकेट लिए जुन प्रदर्शन उनको सिनियर टिममा डेब्यूको लागि आधार बन्यो।

२०१८ मा दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा उनलाई खरिद गरेसँगै उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडीको रुपमा विश्वभर चर्चित बने।

यसपछि उनले क्यारेबियन प्रिमियर लिग, अस्ट्रेलियाको बिग बाश लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग लगायत थुप्रै अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरु खेलिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *