दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ

डिसी नेपाल
२५ भदौ २०७९ २१:०२

लमजुङ । लमजुङ प्रहरीले लागूऔषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी गाउँपालिका-५ पाचोकका रोल्के भन्ने डिलराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

चोरी मुद्दामा दुई वर्ष अगाडी फरार रहेका २९ वर्षीय गुरुङलाई प्रहरीले सुन्दरबजार नगरपालिका वडा नम्बर ९ भोटेओडारस्थित नयाँबजारबाट पक्राउ गरेको हो ।

लागूऔषध गाँजा लिई हिँडेको भन्ने विशेष सुराकको आधारमा इलाका प्रहरी कार्यालय भोटेवडारबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो । सुन्दरबजार-९ धारापानीमा बस्दै आएका गुरुङको साथबाट प्रहरीले १० वटा पोका पारी राखेको ५ सय १५ ग्राम गाँजा बरामद गरेको छ ।

प्रहरी नियन्त्रणमा रहेका गुरुङलाई २४ गते शुक्रबार लमजुङ जिल्ला अदालतबाट सात दिन म्याद थप गरी लागूऔषध (गाँजा) मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिवादी गुरुङ चोरी मुद्दामा दुई वर्ष फरार रहेका थिए । चोरी मुद्दामा अदालतको फैसला अनुसार निजले दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना भुक्तान बाँकी रहेको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *