तालिममा नै अनियमिताः ११ सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार गरेको अभियोग

डिसी नेपाल
२६ भदौ २०७९ २१:०७
376
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगरका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विभिन्न तालिम सञ्चालनका लागि प्राप्त भएको रकम अनियमितता गरेको, मिलेमतोमा तालिम सञ्चालन गरेको तथा तालिमका लागि सहभागीको योग्यता तोकिएकामा त्यसो नगरी निजी संस्थाले प्रशिक्षार्थी छनोट गरेको पाइएको छ ।

यस्तै, बोलपत्रमार्फत गर्नुपर्ने काम सिधै गरेको जस्ता अनियमितता देखिएको आरोपमा आयोगले परिषद्का कामु निर्देशक भीमकान्त लामिछानेविरुद्ध रु तीन करोड ४३ लाख ८८ हजार आठ सय १६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन कार्यालय प्रमुख मोहनबहादुर कार्की, लेखा अधिकृत शिवराम रोकाय, चामुण्डा मावि चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ हाडाकोट, दैलेखका तत्कालीन प्रधानाध्यापक जयप्रसाद तिमिल्सिना, सोही विद्यालयका सहलेखापाल नरेशबहादुर शाही र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नन्दबहादुर शाहीविरुद्ध पनि रु तीन करोड ४३ लाख ८८ हजार आठ सय १६ बराबरको बिगो दाबी गरिएको छ ।

त्यस्तै, आयोगले तालिम सञ्चालक ‘इलाइट इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कन्सल्ट्यान्ट काठमाडौँ’का सञ्चालन उपेन्द्रकुमार शाहीविरुद्ध पनि समान बिगो माग दाबी गरेको छ । आयोगले दैलेखको चामुण्डा बिन्द्राशैनी–४ का धुपेन्द्रबहादुर शाहीविरुद्ध रु ७० लाख बराबरको बिगो दाबी गरेको छ ।

यस्तै, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन शाखा अधिकृत पदमबहादुर बुढाक्षेत्री, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णालीका तत्कालीन प्रशिक्षक गङ्गराज शाही र हिराबहादुर शाहीविरुद्ध रु तीन करोड ४३ लाख ८८ हजार आठ सय १६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *