पोखरामा नयाँ सम्मेलन केन्द्र बन्‍ने, १ अर्ब ६१ करोड लाग्‍ने अनुमान

डिसी नेपाल
४ असोज २०७९ ९:०९
72
Shares

पोखरा। पर्यटकीय सहर पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको छ। सिलिंगेमा बनाइने भनिएको सम्मेलन केन्द्रको ठाउँ खोजी र प्रारम्भिक प्रक्रिया सुरु भए पनि प्रगति राम्रो भएको छैन।

प्रदेश र संघ सरकारले पनि निकै चासोका साथ उक्त योजना निर्माणमा जुटेको छ। पोखरामा ठूलो संख्या अट्ने सम्मेलन केन्द्र छैन। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनुअघि २ हजार क्षमताको अर्को केन्द्र निर्माण गर्न लागिएको छ ।

हालको प्रदर्शनी केन्द्रमा २ हजार क्षमताको सम्मेलन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको हो। अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्नकै लागि उक्त केन्द्र बनाउन लागिएको महानगरले जनाएको छ। सहरी विकास तथा भवन निर्माण विभागले सम्मेलन केन्द्र बनाउन चासो दिएको हो। केन्द्र निर्माणका लागि डीपीआर समेत भैसकेको छ।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख सुरोज पौडेलका अनुसार प्रदर्शनी केन्द्रको ३३ रोपनी जमिनमा सम्मेलन केन्द्र बनाउन डीपीआर गरिएको हो। केन्द्र बनाउन बजेटसमेत विनियोजन गरिसकिएको छ। संघ सरकारले चालू वर्षमै खर्च गर्ने गरी १७ करोड रुपैयाँ विनियोजन गरेको हो । स्टिमेट अनुसार केन्द्र निर्माण गर्न १ अर्ब ६१ करोड खर्च लाग्ने अनुमान छ।

९ रोपनी जग्गामा बेसमेण्टसहितको एउटा हल बन्ने छ। त्यहाँ ४ वटा ५० देखि १ सय जना अट्ने हल निर्माण हुनेछ भने अर्को २ हजार क्षमताको ठूलो हल बनाइने छ। बाँकी जग्गामा पार्किङ र प्रदर्शनी स्थल बन्ने छ। केही समयभित्रै टेण्डर प्रक्रिया अघि बढ्ने पौडेलले बताए। गण्डकी सरकार गठन भएकै वर्षदेखि पोखरामा अन्तराष्ट्रिय सभागृह बनाउने निर्णय गरेर बजेट समेत विनियोजन हुँदा समेत कार्यान्वयनमा गएको थिएन।

अहिले पनि निर्माण पक्का भएको भने छैन। ‘पीपीपी मोडलमा बनाउने भनेको हो। अध्ययन एक चरण सकियो, तर अहिले रोकिएको छ,’ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका जनसम्पर्क अधिकृत कमल थापाले भने, ‘निर्वाचन अघि कुनै काम हुँदैन। त्यसपछिको नेतृत्वले अघि बढ्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *