अमेरिकाले आगामी ५ बर्षमा नेपाललाई १ खर्व ९३ अर्व रुपैयाँ सहयोग गर्ने

डिसी नेपाल
५ असोज २०७९ १०:१२

वासिंगटन डिसी। नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले आगामी ५ बर्षमा अमेरिकाले नेपालको विकासका लागि १ दशमलव ५ विलियन अमेरिकी (१ खर्ब ९३ अर्व नेरु लगभग) डलर खर्च गर्ने बताएका छन्।

नेपालको राष्ट्रिय दिवसका दिन सेप्टेम्बर १९ मा वासिंगटन डिसीस्थित नेपाली राजदूतको निवासमा आयोजित एक स्वागत समारोहमा उनले सो कुरा बताएका हुन्।

यो रकममा हालै सम्झौता सम्पन्न गरिएको एमसीसी परियोजनाको ५ सय मिलियन र अमेरिकी सहयोग नियोग युएसएआईडीले सम्झौता गरेको ६सय ५९ मिलियन अमेरिकी डलरको सहयोगसमेत समावेश भएको उनले बताएका थिए। उनले विगत २० बर्षदेखि नेपालको पुरातात्विक सम्पदा संरक्षणमा अमेरिकी सहयोग रहेको र सो भविष्यमा पनि जारी रहने जानकारी गराए।

अमेरिकी नवनियुक्त राजदूत थम्पसनले नेपालले युक्रेनको समर्थन गरेकोमा खुसी व्यक्त गर्दै प्रजातन्त्र र मानवअधिकारका क्षेत्रमा दुई मुलुकका बीच भावी दिनहरुमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गरेका थिए।

उनले आफ्नो कार्यकालका आगामी दिनहरुमा नेपालका प्रधानमन्त्री र नेपालका नेताहरु तथा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग दुई देशका बीच बनेको दह्रो सम्बन्धलाई अझ मजवुत बनाउन सहकार्य गर्दै जाने आफ्नो इच्छा रहेको पनि बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोलाइएका थम्पसन र अन्य अतिथिहरुलाई स्वागत गर्दै अमेरिकाका लागि नेपाली राजदूत प्रा.डा.श्रीधर खत्रीले कोरोना महामारीको समयमा अमेरिकाले नेपाललाई उपलब्ध गराएको ६ मिलियन(६० लाख) डोज खोप र अन्य मेडिकल सामग्रीका लागि धन्यवाद ज्ञापन गरे।

उनले भने ‘यो सहयोगले धेरैको ज्यान बचाउन मद्धत मिलेको छ।’ उनले नेपाली सेनाका अधिकृतहरुका लागि क्षमता अभिवृद्धि पुर्याएको सहयोगको पनि प्रसंसा गरेका थिए भने गतबर्षजस्तै आगामी बर्ष हुने डेमोक्रेसी समिटमा पनि नेपालले सहभागी हुन पाउने आशा व्यक्त गरेका थिए।

अमेरिकी राष्ट्रपति जो वाइडेनको आयोजनामा गतबर्ष सम्पन्न भएको सो समिटमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरवहादुर देउवाले भाग लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *