४३ वर्ष पुरानो क्रान्तिको कथा, जसले इरान रातारात परिवर्तन भयो, आज हिजाब विरुद्ध महिलाहरूको युद्ध
काठमाडौं । इरानमा महिलाहरूले आफ्नो कपाल काटिरहेका छन् । उनीहरूले सुरक्षा बलको अगाडि हिजाब फाल्दै पक्राउ गर्न चुनौती दिएका छन् । सरकारविरुद्ध नाराबाजी भइरहेको छ । सहरहरु जलिरहेका छन् । सरकारले आन्दोलनकारीलाई दबाउन लाठीचार्ज गरिरहेको छ । यी प्रदर्शनमा अहिलेसम्म तीन जनाको मृत्यु भएको पनि बताइएको छ । दर्जनौं घाइते भएका छन् । तर प्रदर्शन रोकिएको छैन।
यी प्रदर्शनको कारण २२ वर्षीया महसा अमिनी हुन् । महसा अमिनी अब यो संसारमा रहिनन् । १६ सेप्टेम्बरमा उनको मृत्यु भयो। महसा अमिनीलाई प्रहरीले सेप्टेम्बर १३ मा पक्राउ गरेको थियो । अमिनीले तेहरानमा राम्रोसँग हिजाब नलगाएको आरोप लगाइएको थियो। जबकि, इरानमा हिजाब लगाउनु अनिवार्य छ। अमिनीलाई पक्राउ गरी प्रहरी चौकी लगिएको थियो । त्यहाँ उनको स्वास्थ्य बिग्रिएपछि अमिनीलाई अस्पताल लगिएको थियो । तीन दिनपछि अमिनीको मृत्यु भएको खबर आयो।
प्रहरीले अमिनीलाई नराम्ररी कुटपिट गरेको परिवारको आरोप छ । जसका कारण उनी कोमामा गइन् र अस्पतालमा उनको मृत्यु भयो । अमिनीको मृत्युपछि इरानमा प्रदर्शनहरू भइरहेका छन्। सरकारविरुद्ध नाराबाजी भइरहेको छ । महिलाहरुले आफ्नै कपाल काटेर सुरक्षा बलको अगाडि हिजाब उडाउँदै विरोध गरिरहेका छन् । यो पूरै घटनापछि इरानमा ‘हिजाब विरोधी’ आन्दोलन चर्किएको छ । महिलाले स्वतन्त्रता मागिरहेका छन् । पुरुषले पनि साथ दिएका छन् । यी सबैले चार दशकअघि भएको ‘इस्लामिक क्रान्ति’को सम्झना ताजा गराएको छ । त्यतिबेला खुलापनको विरुद्धमा क्रान्ति भयो र अहिले त्यही खुलापन माग राख्दै प्रदर्शन भइरहेको छ ।
यो सन् १९३६ को कुरा हो । त्यतिबेला इरानमा पहलवी वंशका रेजा शाहले शासन गरेका थिए। उनलाई हिजाब र बुर्का मन पर्दैनथ्यो । उनले हिजाब र बुर्कामाथि प्रतिबन्ध लगाए । हिजाब वा बुर्का लगाउने महिलालाई उत्पीडन गरियो। महिला स्वतन्त्रताको सन्दर्भमा यो कदम निकै क्रान्तिकारी थियो। पछि रेजा शाह निर्वासनमा जान बाध्य भए । उनीपछि उनका छोरा मोहम्मद रेजा पहलवीलाई सिंहासनमा राखियो। सन् १९४९ मा इरानमा नयाँ संविधान लागू भयो। मोहम्मद मोसादिक १९५२ मा प्रधानमन्त्री भए तर १९५३ मा उनलाई अपदस्थ गरियो। यसपछि रेजा पहलवी देशको सर्वेसर्वा भए।
हिजाब र बुर्कामाथि प्रतिबन्ध लगाउने निर्णयबाट केही मानिसहरु आक्रोशित पनि भएका थिए । फलस्वरूप पुरुषहरूले महिलाहरूलाई घरबाट बाहिर निस्कन रोके। रेजा पहलवीले यस नियममा केही छुट दिए, तर उनी पश्चिमी सभ्यताको पक्षमा पनि थिए। त्यसबेला रेजा पहलवीका प्रतिद्वन्द्वी अयातुल्ला रुहोल्लाह खोमेनी थिए। १९६४ मा पहलवीले खोमेनीलाई देशबाट निष्कासित गरे। मानिसहरूले रेजा पहलवीलाई अमेरिकाको हातको ‘कठपुतली’ भन्न थाले। खोमेनीले यही जनआक्रोशको फाइदा उठाए र इस्लामिक क्रान्ति सुरु गरे।
इरानमा इस्लामिक क्रान्तिको शुरुवात सन् १९७८ मा भएको मानिन्छ तर यसको बीउ सन् १९६३ मा नै रोपिएको थियो । त्यसपछि इरानका शासक रेजा पहलवीले श्वेत क्रान्तिको घोषणा गरे। आर्थिक र सामाजिक सुधारको सन्दर्भमा यो ठूलो घोषणा थियो। तर यसले इरानलाई पश्चिमी देशको मूल्यमान्यतातर्फ लैजाँदै थियो । जनतामा यसको विरोध भएको थियो । त्यसपछि सन् १९७३ आयो ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थाल्यो । यसले इरानको अर्थतन्त्रलाई ध्वस्त बनायो। तर रेजा पहलवी श्वेत क्रान्तिलाई सफल बनाउने सपनामा व्यस्त थिए । इरानका धर्मगुरुहरूले यसलाई इस्लाममाथिको आक्रमण भने ।
सेप्टेम्बर १९७८ को समयमा, सार्वजनिक क्रोध फैलियो। रेजा पहलवीको विरोधमा प्रदर्शन सुरु भयो। यी प्रदर्शनहरूको नेतृत्व मौलवीहरूले गरेका थिए। यी मौलवीहरूले फ्रान्समा बसेका अयातोल्लाह रुहोल्लाह खोमेनीबाट निर्देशन लिइरहेका थिए। सन् १९६४ मा निर्वासित भएपछि खोमेनी फ्रान्स गएका थिए । यसैबीच रेजा पहलवीविरुद्धको आक्रोश बढ्दै गयो । जनतालाई शान्त पार्न देशमा मार्सल ल लगाइयो । जनवरी १९७९ सम्म इरानमा गृहयुद्धको अवस्था थियो । एकातिर जनता खोमेनीको स्वदेश फिर्तीको माग गरिरहेका थिए भने अर्कोतिर सेनाले उनीहरूमाथि गोली चलाइरहेको थियो ।
स्थिति अनियन्त्रित भएपछि १६ जनवरी १९७९ मा रेजा पहलवी परिवारसहित अमेरिका गए । अमेरिका जानुअघि रेजा पहलवीले विपक्षी नेता शापोर बख्तियारलाई अन्तरिम प्रधानमन्त्री बनाएका थिए । शापोर बख्तियारले खोमेनीलाई इरान फर्कन अनुमति दिए तर सर्त पनि राखे। खोमेनी फर्किए पनि प्रधानमन्त्री बख्तियार नै रहने शर्त थियो । फेब्रुअरी १९७९ मा, खोमेनी फ्रान्सबाट आफ्नो देश फर्के। राजधानी तेहरानमा खोमेनीले ‘सरकार गठन’ गर्ने घोषणा गरे। उनको भाषण सुन्न एक लाखभन्दा बढी मानिस जम्मा भएको बताइएको छ ।
रेजा पहलवी भागेपछि पनि सरकारविरुद्धको आन्दोलन रोकिएको थिएन । यसैबीच, खोमेनीले मेहदी बजारगानलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरे। त्यसपछि इरानमा दुई प्रधानमन्त्री भए । एउटा बख्तियार र अर्को बजारगन । बिस्तारै खोमेनीले सरकारविरुद्धको प्रदर्शनलाई धार्मिक रंग दिए। सरकार कमजोर र खोमेनी बलियो हुँदै गए। सेनामा पनि विभाजन भयो । फेब्रुअरी २० मा, रेजा पहलवीका वफादार इम्पीरियल गार्डहरूले तेहरानमा वायुसेनामाथि आक्रमण गरे। आन्दोलन अब हिंसात्मक बन्दै गएका थिए । बिस्तारै सेना पनि खोमेनीको समर्थनमा झुक्दै गयो ।
सन् १९८० को दशकअघि इरानमा पश्चिममा जस्तो खुलापन थियो । महिलाहरूलाई आफ्नो मनपर्ने लुगा लगाउने स्वतन्त्रता थियो। उनीहरू पुरुषसँग घुलमिल हुन सक्थे । तर इस्लामिक क्रान्तिले इरानलाई पूर्ण रूपमा परिवर्तन गर्यो। यसले ‘खुला’ इरानलाई ‘बन्द’ गर्यो। सन् १९७९ को मार्चको अन्त्यतिर जनमत संग्रह भएको थियो। जसमा ९८ प्रतिशतभन्दा बढी जनताले इरानलाई इस्लामिक गणतन्त्र बनाउने पक्षमा मतदान गरे । त्यसपछि इरानको नाम ‘इस्लामिक रिपब्लिक अफ इरान’ भयो। खोमेनी सत्तामा आएसँगै नयाँ संविधानको काम सुरु भयो। नयाँ संविधान इस्लाम र शरियामा आधारित थियो। विपक्षीहरूले यसको विरोध गरे, तर खोमेनीले स्पष्ट गरे कि नयाँ सरकारले ‘शत प्रतिशत इस्लाम’ मा आधारित कानून अन्तर्गत काम गर्नुपर्छ। लाखौं विरोधका बाबजुद १९७९ को अन्त्यतिर नयाँ संविधान पारित भयो ।
नयाँ संविधानपछि इरानमा शरिया कानून लागू भयो। धेरै प्रतिबन्धहरू लगाइयो। नारी स्वतन्त्रता खोसियो । अब उनीहरूले हिजाब र बुर्का लगाउन आवश्यक थियो। सन् १९९५ मा त्यहाँ यस्तो कानुन बनेको थियो, जस अन्तर्गत अफिसरहरूलाई हिजाब नलगाई बाहिर निस्कने ६० वर्षसम्मका महिलालाई जेलमा राख्ने अधिकार छ। यति मात्र होइन, इरानमा हिजाब नलगाउँदा ७४ कोर्रादेखि १६ वर्षसम्मको जेल सजाय हुन सक्छ।
इस्लामिक क्रान्तिको बीचमा यस्तो घटना पनि घट्यो, जसले अमेरिकाजस्तो शक्तिशाली देशलाई कमजोर बनाएको थियो । स्थिति यस्तो भयो कि मानिसहरूले रेजा पहलवीको फिर्ताको माग गरिरहेका थिए। उनीहरूले रेजा पहलवीलाई इरानमा फिर्ता ल्याएर सजाय दिनुपर्ने बताए। त्यतिबेला अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले रेजा पहलवीलाई न्युयोर्क आएर क्यान्सरको उपचार गर्न अनुमति दिएका थिए । यसले आक्रोश झनै बढाएको थियो ।
४ नोभेम्बर १९७९ मा, इस्लामिक विद्यार्थीहरू तेहरानमा अमेरिकी दूतावास बाहिर भेला भए। उनीहरुले अमेरिकी दूतावासलाई घेराबन्दी गरेका थिए । खोमेनीले पनि यो घेराबन्दीलाई समर्थन गरे। प्रदर्शनकारीहरूले रेजा पहलवीलाई फिर्ता पठाउन अमेरिकासँग माग गर्दै आएका थिए तर अमेरिकाले त्यसलाई अस्वीकार गरेको थियो। दिन बित्दै गयो तर आन्दोलनकारीहरु दूतावास छाड्न राजी भएनन् । संयुक्त राष्ट्र संघले पनि पहल गर्यो, तर कुनै फाइदा भएन। त्यतिबेला दूतावासमा ५२ जना अमेरिकी बन्धक थिए।
यस घेराबन्दीको करिब एक वर्षपछि, रेजा पहलवीको इजिप्टमा मृत्यु भयो। उनलाई त्यहीँ गाडियो । तर, दूतावासको घेराबन्दी जारी थियो । अमेरिकाले सक्दो प्रयास गर्यो । अमेरिकामा रहेका इरानी जनताको सम्पत्ति पनि जफत गरियो तर केही फाइदा भएन । अन्ततः अमेरिकामा चुनाव भयो र रोनाल्ड रेगन नयाँ राष्ट्रपति बने। त्यसपछि अल्जेरियामा अमेरिका र इरानबीच सम्झौता भएको थियो । त्यसपछि बन्धकहरूलाई रिहा गरियो। प्रदर्शनकारीहरूले अमेरिकी दूतावासका अधिकारीहरूलाई ४४४ दिनसम्म बन्धक बनाएका थिए।
इरानमा अहिले अयातुल्ला रुहोल्लाह खोमेनीका उत्तराधिकारी अयातुल्ला अली खोमेनी देशको सर्वोच्च नेता हुन्। इरानमा कडा शरिया कानून लागू छ। तर अहिले विरोधका आवाज पनि उठ्न थालेका छन् । महसा अमिनीको मृत्युपछि हिजाब विरोधी आन्दोलन चर्किएको छ । महिलाले स्वतन्त्रता मागिरहेका छन् । कपाल काटिरहेकी छिन् । हिजाब हावामा उडिरहेको छ। सरकारले यी प्रदर्शनहरूलाई दबाउन आवश्यक सबै कदम चालिरहेको छ, तर आन्दोलनकारीहरू शान्त छैनन्। तर, अमिनी अब यो संसारमा छैनन् । सरकारले उनको हृदयाघात भएर मृत्यु भएको बताएको छ । त्यसैले आफन्त र आन्दोलनकारीले यसलाई हत्या भनेका छन् । तर अमिनीको मृत्युपछि इरानमा जुन प्रकारका प्रदर्शनहरू भइरहेका छन्, त्यसले सन् १९७९ को इस्लामिक क्रान्तिको सम्झना ताजा हुन्छ ।







डिसी नेपाल







Facebook Comment