समयको बर्बादी भन्दै ट्रम्पद्वारा अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि इस्लामावादमा हुने तय भएको उच्चस्तरीय वार्तामा जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द गरेका छन्। राष्ट्रपति ट्रम्पले भ्रमणलाई “समयको बर्बादी” भन्दै यस्तो निर्णय लिएका हुन्।
इरानसँगको युद्धविराम र शान्ति वार्ताको सम्भावनालाई लिएर पाकिस्तानले मध्यस्थताको भूमिका निर्वाह गरिरहेको थियो। सोही क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरको नेतृत्वमा रहेको टोली पाकिस्तान जाने कार्यक्रम थियो।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत उक्त भ्रमण रद्द गरेको पुष्टि गरेका छन्। उनले भ्रमण रद्द गर्नुको मुख्य कारणबारे भनेका छन्, “यात्रामा धेरै समय खेर गयो, काम धेरै भयो! त्यसबाहेक, उनीहरूको (इरानको) नेतृत्वमा भित्रै ठूलो गुटबन्दी र अन्योल छ। को जिम्मेवार हो भन्ने कसैलाई थाहा छैन।”
ट्रम्पले अमेरिकाले हाल बलियो स्थितिमा रहेको दाबी गर्दै भनेका छन्, “हामीसँग सबै कार्डहरू छन्, उनीहरूसँग केही पनि छैन। यदि उनीहरू वार्ता गर्न चाहन्छन् भने, उनीहरूले केवल हामीलाई कल गर्नुपर्छ।”
इस्लामावादमा रहँदा इरानी विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकी कदमको आलोचना गरेका छन्। उनले युद्ध अन्त्यका लागि इरानको प्रस्ताव राखेको भए पनि अमेरिका कूटनीतिक रूपमा गम्भीर नदेखिएको आरोप लगाएका छन्। पाकिस्तानी अधिकारीहरूसँगको भेटवार्ताका क्रममा उनले अमेरिकाले शान्ति वार्तालाई भन्दा अन्योल सिर्जना गर्न खोजेको जिकिर गरे।
यो घटनाक्रमसँगै पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच शान्ति वार्ता हुने सम्भावना थप जटिल बनेको छ। ट्रम्पको यो निर्णयपछि मध्यपूर्वको भू-राजनीतिमा थप तनाव बढ्ने आकलन गरिएको छ। विशेषगरी, स्ट्रेट अफ हर्मुजको तनाव र इजरायल-लेबनान सीमा क्षेत्रको अस्थिरताका कारण यो वार्तालाई निकै चासोका साथ हेरिएको थियो।
यसअघि ट्रम्प प्रशासनले इरानलाई वार्ताको अवसर दिएको भए पनि दुवै पक्षबीच ठोस प्रगति हुन सकेको छैन। ट्रम्पले भ्रमण रद्द गरे लगत्तै इरानबाट “केही राम्रो प्रस्ताव” प्राप्त भएको संकेत गर्दै ‘ब्याक च्यानल’ वार्ताको सम्भावना कायमै रहेको बताएका छन्, तर औपचारिक भ्रमण भने तत्कालका लागि रोकिएको छ।







डिसी नेपाल







Facebook Comment