युगाण्डामा मुजुरा नाच्दा नाच्दै पक्राउ परेका ५ नेपाली युवती नेपाल ल्याइए

तस्करलाई नै टिकट कटाइयो

डिसी नेपाल
१३ असोज २०७९ ६:४२

काठमाडौं। मुजुरा नाच गर्दा गर्दै अफ्रिकाको युगाण्डामा पक्राउ परेका ५ जना नेपाली युवतीहरु पक्राउ परेको २६ दिनपछि नेपाल फर्काइएका छन्।

उनीहरुलाई असोज १२ गते बुधवार विहान नेपाल ल्याइएको छ। एयर अरेवियाको उडान नं जी ९५३६ बाट विहान ९ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा आइपुगेका थिए। यसरी नेपाल फर्काइएका युवतीहरुमा लामा थरका दुईजना, तामाङ्ग थरकी एकजना, क्षेत्री थरकी एकजना र विक थरकी एकजना रहेको छन्।(वास्तविक नामहरु प्राप्त भएपनि गोप्य राखिएको छ )

काठमाडौं अवतरण गरेपछि उनीहरु आआफ्ना घर गए वा प्रहरी र अध्यागमन विभागले थप छानविन गर्न लगेको छ भन्नेबारे यकिन विवरण प्राप्त भएको छैन। डिसी नेपाललाई इजिप्टको कायरोस्थित नेपाली दूतावासबाट प्राप्त विवरणअनुसार, उनीहरु अवैधरुपले ४ बर्षअघि युगाण्डा पुर्याइएका थिए।

मानव तस्करीमा परेका ती नेपाली युवतीहरुलाई युगाण्डाको डान्सबारमा नाच्नका लागि वाध्य बनाइएका थिए। उनीहरुलाई सेप्टेम्बरको १ तारिकका दिन युगाण्डाको प्रहरीले डान्सबारबाटै पक्राउ गरेको थियो।

मानव तस्करलाई नै टिकट किनाइयो ?

दूतावास स्रोतका अनुसार, युगाण्डाको कम्पालास्थित गैरआवासीय नेपाली संघ(एनआरएनए) युगाण्डाको पहलमा ती युवतीहरुलाई युगाण्डा पुर्याउने मुख्य व्यक्तिको पहिचान गरिएको र सो व्यक्तिलाई नै ५ युवतीहरुको नेपाल फर्कने टिकट किन्न लगाइएको थियो।

यसबारे कायरोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पनि लिखित जानकारी दिएको छ। दूतावासका एक अधिकारीका अनुसार सो पत्रको व्यहोरामा लेखिएको छ, ‘एनआरएनए कम्पालाको पहलमा ती महिलाहरुलाई युगाण्डामा पुर्याउने मुख्य व्यक्तिको पहिचान गरी नेपाल फर्कने हवाई टिकट उपलब्ध गराइएको छ।’

दूतावासले यसरी अवैधरुपमा युवतीहरुको तस्करी गर्ने मुख्य व्यक्ति को हो भन्ने पत्रमा खुलाएको छैन। एनआरएनए, युगाण्डाको पहलमा सो मुख्य व्यक्तिको पहिचान भएको भनिएको छ तर सो व्यक्ति नेपाली नै हो कि अरु नै देशको हो भन्ने पनि स्पष्ट पारिएको छैन।

तर, मन्त्रालयलाई लेखिएको पत्रमा यसरी युवतीहरु तस्करीमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्न युगाण्डा सरकारलाई पत्र लेखेको कुरा भने उल्लेख गरिएको छ।

दूतावासले यसरी तस्करी गरेर अफ्रिकाका डान्सबारमा पुर्‍याइएका नेपाली युवतीहरु नारकीय जीवन विताउन वाध्य भएको कुरा समेत पत्रमा उल्लेख गरेको छ। र, यस्ता तस्करहरुको जालो नै रहेकोले सो जालो पत्ता लगाई कडा कारवाही हुनुपर्ने कुरा पनि दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको रिपोर्टमा उल्लेख गरिएको छ।

सांंकेतिक तस्वीर।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *