वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन
जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार राति पौने १ बजे निधन भएको कान्छा छोरा डा. विभाष लाभले जानकारी दिएका छन् ।
परिवारका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्यसँग कुराकानी गरिरहेका बेला बिमल अचानक बिरामी परेका थिए । त्यसपछि उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।
हाल बिमलको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका–१०, देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ । उनको निधनको खबरपछि साहित्य, शिक्षा तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले घरमै पुगेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्य सिर्जना गरेका बिमलले साहित्यका विभिन्न विधामा कलम चलाएका थिए । भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर तहको अध्ययन गरेका थिए ।
बिमल लामो समयदेखि शिक्षण तथा साहित्यिक क्षेत्रमा सक्रिय थिए । उनी वि.सं. २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा आबद्ध भएका थिए । अध्यापनसँगै उनले साहित्य, भाषा र अनुसन्धानका क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिएका थिए ।
उनको साहित्यिक योगदानको कदर गर्दै उनलाई जगदम्बाश्री पुरस्कार, मधुपर्कलगायत विभिन्न सम्मान तथा पुरस्कारबाट विभूषित गरिएको थियो । नेपाली तथा मैथिली साहित्यको क्षेत्रमा उनको योगदानलाई महत्वपूर्ण मानिन्छ ।
बिमलको निधनले नेपाली तथा मैथिली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकार तथा शुभेच्छुकहरूले बताएका छन् ।
उनको आज दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने डा. विजय दत्तले जानकारी दिएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment