नेपालको गौरव बढाएको भन्दै अमेरिकी विश्वविद्यालयमा डा.जोशीको प्रसंसा र सम्मान (भिडियाेसहित)

डिसी नेपाल
१४ असोज २०७९ ७:३८

वासिंगटन डिसी। ‘उनकै योगदानका कारण केही नेपाली विद्यार्थीहरुले डक्टरल डिग्री हासिल गरी अनुसन्धान र विकासका क्षेत्रका अमेरिकाको नासा र ब्रिस्टोल मायर्सजस्ता प्रतिष्ठित कम्पनीहरु कार्यरत रहेका छन्। उनीहरुमध्ये केही अन्तरिक्षको अनुसन्धानमा छन् भने कतिपयहरु मुटु रोग तथा क्यान्सर रोगको औषधि पत्ता लगाउने अनुसन्धानमा सफलता हासिल गरिरहेका छन्।’

सेप्टेम्बर २४ शनिवार अमेरिकाको वेष्ट भर्जिनियास्थित प्रतिष्ठित फेयरमण्ट विश्वविद्यालयको सभाहलमा विशिष्ट पाहुनाहरु, अमेरिकाको सो क्षेत्रका छानिएका विद्धानहरुको उपस्थितिमा सो विश्वविद्यालयकी अध्यक्ष अमेरिकी नागरिक डायना फिलिप्स र सोही विश्वविद्यालयको फाउण्डेसनका अध्यक्ष रे डेयरले यसरी मुक्त कण्ठले प्रसंसा गर्दै सम्मान गरिएका थिए एक जना नेपालीमुलका विद्वान व्यक्तित्व डा.तुलसी जोशी।

अध्यक्ष रे यतिमा मात्र रोकिइनन्, उनले अगाडि भनिन्, ‘शायद अमेरिकामा उनी नै एकमात्र विदेशबाट आएको व्यक्ति हुनुपर्छ जसले त्यस्तो अन्तर्राष्ट्रिय कार्यको जिम्मेबारीलाई बोकेर सफतापूर्वक सम्पन्न गरी आफू जन्मेको मुलुक र संलग्न संस्थाहरुको गौरब बढाएका छन्।’

उनले थपिन्, ‘यी कार्यले हाम्रो विश्वविद्यालयको इज्जत र प्रतिष्ठा बढेको छ। विश्वविद्यालयमा इन्टरन्यासनल स्कलरसिप प्रोग्रामहरु शुरु गर्न र संचालन गर्न उहाँ नै मुख्य व्यक्ति हो जसले १०० भन्दा बढी विदेशी विद्यार्थीहरुलाई स्कलरसिप उपलब्ध गराएर सहयोग पुर्याउनु भएको छ र यसमध्ये ५० जना त नेपाली विद्यार्थीहरु नै छन्।

डा.जोशीले सन् २०२१ को ‘आउटस्ट्याण्डिङ फिलान्थ्रोफिस्ट अवार्ड’ प्राप्त गरेका थिए। सो अवार्ड हस्तान्तरणका लागि भने २४ सेप्टेम्बर २०२२ मा विशेष कार्यक्रमको आयोजना गरिएको थियो।

डा.जोशीले ४३ बर्षसम्म अमेरिकाको वेष्ट भर्जिनियास्थित फेयरमण्ट विश्वविद्यालयमा पढाएका थिए। गडगडाहट तालीका बीचमा विश्वविद्यालय फाउण्डेसनकी अध्यक्ष रेले डा.जोशीले अमेरिकामा मात्र होइन नेपालमा समेत शिक्षाको विकासका लागि अतुलनीय योगदान गरेको कुरा चर्चा गरेकी थिइन्।

डा.जोशीले नेपालमा सातवटा स्कलसिप कार्यक्रमहरु चलाएर जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क पढ्ने अवसर प्रदान गरेको मात्र होइन अमेरिकामै पनि दुईवटा विश्वविद्यालयमा ४ वटा इन्टरन्यानशल स्टडिज् प्रोग्रामहरु चलाएर शिक्षा क्षेत्रमा ठूलो योगदान दिएको उनले बताइन्।


अमेरिकी राष्ट्रपति र गभर्नरहरुबाट विभिन्न अवार्डहरु प्राप्त गरिसकेका डा.जोशीले नेपालका राजाबाट पनि स्वर्णपदक पाएको, वेष्ट भर्जिनियाको शिक्षा विभागबाट प्रतिष्ठित मानिएको साइरस भेन्स अवार्डले सम्मानित भएसकेको र अमेरिकन एसोसिएसन अफ जोग्राफर्सबाट समेत सम्मानित भएको चर्चा उनले कार्यक्रममा गरेकी थिइन्।

डा.जोशी र उनकी पत्नी मर्लिन जोशी जसले ३० बर्षसम्म वेष्ट भर्जिनियाका स्कूलहरुमा पढाइन्, दुबैको शिक्षाप्रतिको अगाध प्रेम र गुणस्तरीय शिक्षामा पहुंच बढाउनु पर्ने सोचका कारण जोशी दम्पत्तिले शिक्षाको प्रचार र विकासमा ठूलो योगदान पुगेको विचार कार्यक्रममा राखिएको थियो।

यही लगावका कारण डा.जोशीले आफू जन्मेको क्षेत्र नेपालको सुदुरपशिचमको धनगढीमा एउटा सरकारी विद्यालय नै आफ्नै नाममा संचालन गरेकोमा पनि कार्यक्रममा प्रसंसा गरिएको थियो। डा.जोशी दम्पत्तिका नाममा अमेरिकाको वेष्ट भर्जिनियाका दुईवटा विश्वविद्यालयमा एकेडेमिक अफिसहरु संचालन गरेको विषयमा पनि अध्यक्ष रेले सुनाएकी थिइन्।

सक्रिय अध्यापन कार्यबाट रिटायर्ड भएका डा.जोशी अमेरिकी विश्वविद्यालयले गरेको सो सम्मानप्रति खुसी छन्। आफूले जीवनमा शिक्षा क्षेत्रमा पुर्याएको योगदानबारे विश्वविद्यालयले सम्झना गरिदिएको र त्यसले आफूलाई प्रेरित गरेको उनले डिसी नेपाललाई बताए। उनीसमेत अन्य विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्न आयोजित सो विशेष समारोहमा डा.जोशी,उनकी पत्नी मर्लिन र छोरीहरु दिपा र तारा पनि सहभागी थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *