उडिरहेको विमानमा जमिनबाट गोली हान्दा यात्रुको घाँटीमा लाग्यो

डिसी नेपाल
१६ असोज २०७९ १४:४६

काठमाडौं । आकाशमा हवाईजहाज उडिरहेको थियो । कसैले विमानमा जमिनबाट गोली हाने। गोली सिधै विमानमा सवार यात्रुलाई लागेको थियो । गोली लागेर यात्रु रगतले लतपतिएका थिए । त्यसपछि विमान अवतरण गरी घाइतेलाई अस्पताल लगिएको थियो । यो घटना म्यानमारको हो ।

‘द सन’को रिपोर्ट अनुसार अघिल्लो दिन ६३ यात्रु बोकेको म्यानमार राष्ट्रिय एयरलाइन्सको विमान लोइकाभ विमानस्थलमा अवतरण गर्न लागेको थियो । त्यही क्रममा कसैले जमिनबाट विमानमा गोली हानेको थियो । त्यतिबेला विमान करिब ३५०० फिटको उचाइमा थियो।

अचम्मको कुरा, यति उचाइमा हुँदा पनि गोली विमानको बाहिरी तहमा छिर्ने क्रममा यात्रुलाई लागेको थियो । यस घटनासँग सम्बन्धित धेरै तस्विरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्, जसमा विमानमा गोलीका प्वालहरू देखिन्छन्।

रगतले लतपतिएको सिटमा एक पुरुष यात्रु पनि बसेको देखिन्छ । उनको घाँटी नजिक गोली लागेको बताइएको छ । यो घटनापछि शहरका सबै उडान अनिश्चितकालका लागि रद्द गरिएको छ ।

म्यानमारको सैन्य सरकारले विद्रोही सेनाले विमानमा गोली चलाएको आरोप लगाएको छ। उसले यात्रु विमानमा यस्तो आक्रमण युद्ध अपराध भएको बताएको छ । तर, विद्रोही समूहले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।

गत वर्ष आङ सान सुकीको निर्वाचित सरकारबाट सेनाले सत्ता लिएको थियो । म्यानमारमा अहिले सेनाको शासन छ । देशमा मार्सल ल लागू छ । सबै कुरा सेनाको नियन्त्रणमा छ । यी सबैको बीचमा देशको पूर्वी राज्य कायामा सेना र विद्रोही समूहहरूबीच लडाइँ जारी छ। हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *