हुलास फिनसर्भको खुद नाफा करिब ४० करोड, वितरणयोग्य नाफा ७७ करोड रुपैयाँ पुग्यो

डिसी नेपाल
२५ साउन २०८३ १२:२१

काठमाडौं। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको २१ करोड ६१ लाख ६९ हजार रुपैयाँको तुलनामा नाफा ८४.४५ प्रतिशतले बढेको हो।

एक वर्षको अवधिमा व्यवसायको आकार एकतिहाइले विस्तार भएसँगै कम्पनीको खुद ब्याज आम्दानी र नाफा दुवैमा उल्लेख्य सुधार आएको छ।

कम्पनीको खुद ब्याज आम्दानी २२ करोड १० लाख रुपैयाँबाट बढेर ४८ करोड २३ लाख रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह १२ अर्ब २१ करोड ८५ लाख रुपैयाँ पुगेको छ। यसै गरी, प्रभावकारी असुली प्रक्रियाका कारण अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर १.८७ प्रतिशतमा झरेको छ।

नाफामा आएको वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४८.०४ रुपैयाँ पुगेको छ।

गत आवको खुद नाफामा अघिल्लो वर्षको सञ्चित मुनाफासमेत जोड्दा कम्पनीको वितरणयोग्य नाफा ७७ करोड ४० लाख रुपैयाँ पुगेको छ, जुन कुल चुक्ता पुँजीको आधारमा ९३ प्रतिशतसम्म लाभांश वितरण गर्न पर्याप्त छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २२७.४६ रुपैयाँ, इक्विटीमा प्रतिफल २१.१२ प्रतिशत र साधारण जगेडा कोषमा २८ करोड ३९ लाख रुपैयाँ रहेको छ।

व्यवसायी शेखर गोल्छा अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेको गोल्छा ग्रुपअन्तर्गतको यस कम्पनीमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको ८५ प्रतिशत र बाँकी १५ प्रतिशत स्वामित्व हुलास अटोक्राफ्ट, हिम इलेक्ट्रोनिक्स लगायतको छ।

८३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारी, मोबाइल, इलेक्ट्रोनिक्स र फर्निचरलगायतका क्षेत्रमा ‘इन्स्टा फाइनान्स’ सेवा प्रदान गर्दै आएको छ। कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत २० लाख ७५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीसमेत गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *