युद्धविरुद्ध टोकियोमा प्रदर्शन: जापानी संविधानको धारा ९ संशोधन घातक हुने चेतावनी
टोकियो (एजेन्सी)। जापानको राजधानी टोकियोमा युद्धको विरोधमा बृहत् याली निकालिएको छ। नागासाकीमा भएको आणविक बम विस्फोटको ८१औँ वार्षिकोत्सवको अवसर पारेर जापानी नागरिकहरूले सरकारको रक्षा खर्च बढाउने कदम र युद्ध परित्याग गर्नेसम्बन्धी संविधानको धारा ९ संशोधन गर्ने योजनाको कडा विरोध गरेका हुन्।
युद्धविरोधी प्लेकार्ड र नारासहित सडकमा उत्रिएका प्रदर्शनकारीहरूले जापानलाई पुनः सैन्यीकरणको बाटोमा लैजानु देशको शान्तिवादी आदर्शविपरीत हुने र यसले भावी पुस्तालाई ठूलो जोखिममा पार्ने चेतावनी दिएका छन्। दोस्रो विश्वयुद्धमा पराजित भएपछि जापानले युद्ध नगर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै सहभागीहरूले ८ दशकदेखि कायम शान्तिलाई जोगाउन संविधानको धारा ९ संशोधन गर्न नहुनेमा जोड दिएका छन्।
हिरोसिमा र नागासाकीमाथिको आणविक आक्रमणको पीडा भोगेका नागरिकहरूका लागि युद्धको स्मृति अझै ताजै रहेको र सैन्यीकरणले कुनै उज्ज्वल भविष्य नदिने प्रदर्शनकारीहरूको भनाइ थियो। विश्वमै आणविक आक्रमणको पीडा सहने एक मात्र देश भएकाले जापानले क्षेप्यास्त्र वा आणविक हतियार तैनाथ गर्न नहुने उनीहरूले बताए।
प्रदर्शनमा सहभागी कतिपयले जापानको आर्थिक कमजोरी र जम्मा ३६ प्रतिशत मात्र रहेको खाद्य आत्मनिर्भरताको स्थितिलाई औँल्याउँदै आक्रामक सैन्य नीति अपनाउनु देशका लागि अव्यावहारिक र जोखिमपूर्ण हुने टिप्पणी गरेका छन्। संविधान संशोधन गरिएमा त्यसले नियन्त्रणविहीन सैन्य विस्तारको बाटो खोल्ने र दशकौँदेखि जापानलाई सुरक्षित राखेका शान्तिपूर्ण नीतिहरू नै कमजोर बन्ने उनीहरूको ठम्याइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment