इरानमा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप, प्रहरीले विद्यार्थीमाथि गोली चलायो

डिसी नेपाल
१७ असोज २०७९ १३:३६

काठमाडौं । इरानमा हिजाब विरुद्ध चलिरहेको विरोध प्रदर्शनका क्रममा आइतबार देशको एक प्रसिद्ध विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

सामाजिक सञ्जाल र स्थानीय मिडिया रिपोर्टका अनुसार भीड हटाउन सुरक्षा बलले गोली चलाएको थियो। विद्यार्थीहरू सुरक्षा बलबाट भाग्न दौडिरहेको देखियो।

सेप्टेम्बरमा प्रहरी हिरासतमा एक युवतीको मृत्यु भएपछि इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको थियो।

हिजाब कानूनको पालना नगरेको भन्दै २२ वर्षीया मेहसा अमिनीलाई प्रहरीले पक्राउ गरेको थियो, जसको केही घण्टापछि उनी कोमामा गएकी थिइन् ।

प्रहरीले अमिनीलाई नराम्ररी कुटपिट गरेको र कारले टाउकोमा हानेको आरोप छ । प्रहरीले अमिनीको टाउकोमा लाठी प्रहार गरेको पनि आरोप छ ।

तर, प्रहरीले यी आरोप अस्वीकार गर्दै अमिनीको ‘अचानक हृदयघात’का कारण मृत्यु भएको बताएको छ ।

महसा अमिनीको अन्त्येष्टिको क्रममा सुरु भएको विरोध प्रदर्शन देशभर फैलिएको थियो। यो इरानमा केही वर्षयताकै सबैभन्दा खराब अशान्ति हो।

सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा इरानको शरीफ युनिभर्सिटीमा गोलीबारी हुँदा विद्यार्थीहरू कसरी सुरक्षा बलबाट बच्न भागिरहेका छन् भन्ने देख्न सकिन्छ।

अर्को भिडियोमा सुरक्षाकर्मीले कारमा बसेका मानिसहरूलाई गोली हानेको देखिन्छ। कारमा बसेर उनीहरुले विरोध रेकर्ड गरिरहेका थिए ।

आइतबार धेरै विद्यार्थी पहिलो पटक शरीफ विश्वविद्यालय पुगेका थिए । विश्वविद्यालयको मुख्य गेटमा विद्यार्थीहरू जम्मा भएका र यहाँबाट झडप सुरु भएको बताइएको छ ।

यी दाबीहरूलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न सकिएको छैन।

पछिल्ला दुई रातमा इरानको राजधानी तेहरानलगायत अन्य क्षेत्रमा विरोध प्रदर्शन चर्किएको छ । आन्दोलनमा संलग्नको मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।

नर्वेको एनजीओ इरान ह्युमन राइट्सका अनुसार अहिले देशभर १३३ जनाको मृत्यु भएको छ।

प्रशासनले आन्दोलनकारीलाई कडाइका साथ व्यवहार गर्ने बताउँदै विरोध प्रदर्शनलाई शत्रुको षडयन्त्र भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *