समाजवाद भनेको मार्क्स, लेनिन, एङ्गल्सको नाम जप्नु होइन : प्रदीप गिरि

डिसी नेपाल
१७ असोज २०७९ १५:०४

आज नेपालमा आम जनतामा असन्तोष छ । विद्यार्थी, युवाले त्यस असन्तोषलाई अनेक अनेक प्रदर्शनी, जुलुश र नाराको माध्यमबाट अभिव्यक्ति दिइरहेका छन् । त्यस्तै नाराका शिलशिलामा इनफ इज इनफ नारा विशेष रुपमा आएको हो ।

तर अब अगाडि के गर्ने त ? अगाडिको बाटोको हकमा आवश्यक स्पष्टता छैन । समाजवादको सैद्धान्तिक कुरा गर्दा पनि यो कुरा उठ्छ । अब नेपालमा समाजवादी कार्यक्रम ल्याउने हो भने समाजवाद भन्नेहरुले वा समाजवादप्रति आस्था राख्ने मानिसहरुले कुनचाहीँ कार्यक्रमको प्रस्ताव राख्ने, सिफारिस गर्ने, वकालत गर्ने ?

समाजवादको कुरा गर्दा एकदुईवटा कुराहरु संझना गर्नु पर्दछ । यस देशमा संविधान छ । राजनीति गर्नेहरुले आफूलाई कुनकुन कित्ताको समाजवादी भनेका छन् । संविधानमा समाजवाद उन्मुख भनेर लेखिएको छ । नेपाली कांग्रेस त आफूलाई समाजवादको प्रबर्तक नै भन्ठान्छ । नेकपाका विभिन्न धारले पनि समाजवादको कुरा गरिराख्छ । समाजवादबाट एक कदम अगाडि बढेर साम्यवाद पुग्ने भन्दैछ । बाबुराम उपेन्द्र जस्ताले बनाएको पार्टी होस या अन्य विभिन्न पार्टीहरुले आफ्नो पार्टीको नामभित्रै समाजवादी शब्द राखेको पाइन्छ । अन्य जस्तो नारायणमान विजुच्छेको पार्टी, चित्रबहादुर केसीको मन पनि समाजवाद तर्फै छ ।

तर यहाँ एउटा कुरा बुझ्न आवश्यक छ । सिंगो २० औ शताब्दी हामीहरुले समाजवादको नाममा राजनीति ग¥यौं । रुसमा समाजवादी क्रान्ति भयो । यसका नेता लेनिन र ट्रटस्कीजस्ता नेता विश्वव्यापी रुपमा चर्चित भए र सबैले आफूलाई समाजवादी भन्न थाले । भारतका जवाहलाल नेहरु, जयप्रकाश लोहियादेखि लिएर नेपालका बीपी कोइरालाले समेत आफूलाई समाजवादी भने ।

चीनमा माओत्सेतुङको भनाई पनि त्यही हो । तर याद राख्नु पर्दछ कि आज समाजवाद भन्ने शब्द विश्वमा बैचारिक र भावनात्मक रुपमा लोकप्रिय छैन । बरु थोर बहुत छ भने नेपालमा छ ।

अरु देशमा समाजवादको नाम र चर्चा हुँदैन । त्यही हिन्दुस्तानमा समाजवादी पार्टी छैन । यत्रो जयप्रकाश र लोहियाले चलाएको समाजवादी पार्टीको नामो निशान छैन । एकदुई जना छन् जसले आफ्नो पार्टीलाई समाजवादी भनेका छन् तर त्यो पार्टीको नाममात्र छ कुनै सिद्धान्तमा छैन ।

यूरोप र अमेरिकाको कुरै छोडौ त्यहाँ मानिस समाजवादको नाम नै सुन्न चाहँदैनन् । सबै ठाउँमा घोर दक्षिणपन्थी विचारधारा हावी छ । चाहे ट्रम्प वा बाइडेन हुन् चाहे पुटिन हुन् । सबै ठाउँमा निजी सम्पत्तिको बोलबाला छ । र सबै ठाउँमा जे गर्छ बजारले गर्छ भन्ने छ, राज्यले गर्छ भन्ने छैन ।

यस्तो बेलामा समाजवाद भनेर हामीले के भन्न खोज्दै छौ ? र, हामीले जुन समाजवादको कुरा गर्दै छौं । यसले युवा पुस्तालाई आकर्षित गर्दै गर्दैन । युवा पुस्ताले जुन नारा लगाइरहेका छन्, के उनीहरुले समाजवादप्रति आकर्षण देखाएका छन् त ? कमसेकम यो पंक्तिकारको जुन विचार छ, उनीहरुले समाजवादको प्रति कुनै आकर्षण देखाएका छैनन् ।

यूवाहरु परिवर्तन चाहन्छन् । परिवर्तन चाहने धेरै कारणहरु छन् । तर त्यो परिवर्तनका स्वरुप र सारका बारेमा युवाहरु अन्यौलमा छन् । भन्दा व्यङ्ग्यात्मक होला, तर संविधानमा समाजवाद उन्मुख लेख्दा नेताहरुले कुनै सोच राखेर लेखेको होइन । यसको कुनै आधार नै छैन । तर मानिलिउँ एकछिनका लागि सोचेर राख्नु भएको होला । नेकपा एमालेका नेताहरु खुब सोचेका भए बहुदलीय जनवाद सोचेका थिए होलान् । यता माओवादीले एक्काइसौं शताब्दीको जनवाद सोचेको थियो होला । उनीहरुले समाजवाद अन्तर्गत एक्काइसौं शताब्दीको जनवाद भन्न खोजेका छन् । एमालेले समाजवाद अन्तर्गत जनताको बहुदलीय जनवाद भन्न खोजेको हो ।

एमाले र माओवादी केन्द्र मिल्दा बहुदलीय जनवादमा जाने कि एक्काइसौं शताब्दीको जनवादमा जाने भन्ने यकिन थिएन । तपाईहरुले सुन्नु भएकै होला ओलीले त्यसवेला प्रचण्डलाई तपाईले बहुदलीय जनवाद मान्नु पर्दछ भनेका थिए । प्रचण्डले त्यही मान्नलाई हामी आएको हो र भन्थे । अहिले दुबै पार्टी फुटेकोले आआफ्नो पुरानै समाजवादको मोडलमा फर्किएका छन् ।

नेपाली कांग्रेसमा बीपीले राष्ट्रिय मेलमिलाप भनेर जानु भयो । तर २१ औं शताब्दीमा आएर नेपाली कांग्रेसको समाजवादको के कस्तो रुपरेखा हो कुनै पनि मोडल देखिएको छैन । हुन त हामीले स्कूल बनायौंं, बाटोघाटो बनायौं भनेर त्यो पनि समाजवादको कुरा हो भन्नेले त भन्छन् नै । किताब छापियो त्यो पनि समाजवाद हो भन्ने गर्दछन् । तर त्यो त समाजमा समाज विकासको क्रममा भइरहने कुरा हुन् । समाजवादको कुरा गरेर हामीले कुन त्यस्तो विशिष्ट, खासोखास, ठोस नेपालको परिप्रेक्ष्यमा कुरा गरेका छौं ? अर्थात म यो भन्न बाध्य हुन्छु, त्यो हदसम्म हामीले गर्न सकेका छ्रैनौं ।

त्यो नगर्नको पछाडी ऐतिहासिक कारण छन् । जब रुसमा समाजवादी क्रान्ति भयो । गतिलै भयो । त्यसले विश्व नै हल्लायो । त्यसमा कुनै शंका छैन । अमेरिकाको एक जना पत्रकारले लेखे कि रुसको समाजवादले विश्वलाई थर्कायो । भारतका जवाहरलाल, जयप्रकाश जस्ता नेताले हामी पनि समाजवादी हौं भन्न थाले । युरोपतिर पनि निस्किए ।

रुसमा एउटा मोडल नै आयो । त्यो मोडलको विशेषता के थियो भने मजदुरको बाहुल्य रहेको पार्टी विशेष कम्युनिष्ट पार्टीको बाहुल्य रहेको पार्टी हुन्छ । त्यो मौलिक विशेषता थियो । एउटा बर्ग विशेषको नेतृत्व हुनु पर्दछ भन्ने लेनिनको भनाई थियो । अर्कोतिर हैन चुनाव लड्नु पर्दछ, जुन जातको बर्गको भएपनि जसले जित्छ त्यसले शासन गर्दछ । दुईवटै मोडललाई हामीले देखिसक्यौं । यहाँ नदेखे पनि युरोपमा देखिसक्यौं ।

अमेरिकामा, फ्रान्समा, रुसमा देख्यौं । सबैतिर कम्युनिष्ट फेल भएको भन्दैछन् । तर, कम्युनिष्ट फेल भएको पनि त २० बर्ष भइसक्यो । नयाँ मोडल के छ त ? दलीय व्यवस्था आयो । मानिसमा अहिलेसम्म प्रचलित रहेको दुईटा मोडलप्रति अविश्वास र अनास्था छ । एउटा दल विशेषले नेतृत्व गर्ने मोडल चीनमा छ अहिले । माओवादीले पनि नेपालमा ल्याउन खोजेका थिए । त्यो पनि असफल भयो ।

अर्को प्रजातन्त्रबाट ल्याउने भन्ने मोडल । त्यसले पनि नेपालमा केही गरेन । अर्को शब्दमा भन्ने हो भने गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा, शेरबहादुर, ओली, प्रचण्ड, मनमोहन अधिकारी जस्ताको नेतृत्व । यी सबै नेतृत्वका अगाडि युवाहरुले हामीले केही पाएनौं भन्दैछन् ।

किन ? यो समस्याको जडमा जाऔं । मलाई सोध्नु हुन्छ भने समाजवादको नाम भन्ने काम पनि छैन । नाम छोडौंं । आम नेपालीले के चाहेका छ्रन् र आम नेपालीको चाहना अनुसार विश्व राजनीतिमा के कस्तो अवस्था छ ? समाजवाद भनेको माक्र्स, लेनिन, एङ्गल्सको नाम जप्नु होइन । न त लोहिया र जयप्रकाश कै नाम जप्नु हो, समाजवाद भनेको । देशको, विश्वको परिस्थितिमा आर्थिक पक्ष हावी छ । अहिले हामीले रोजगारी दिन नसकेकोले युवाहरु विदेश जाँदैछन् । यो हामीले रोजगार दिन नसकेको हाम्रो नेताहरुको नालायकी हो ? अथवा नालायकी बाहेक पनि केही हो ? यो प्रश्न महत्वपूर्ण छ ।

दोस्रो विश्वमा यान्त्रिकरणको विकासले जुन परिवर्तन आयो, जस्तो कि हलोले गर्ने काम ट्याक्टरले गर्न थाल्यो । यातायातको सुविधाले समय बचत भयो । राजमार्गले छेऊछाऊमा बस्तीको विकास भयो र शहरीकरणको शुरुवात भयो । पहाडका मानिस बसै सरेर राजमार्गको छेऊमा आए । त्यसले हाम्रो समाज वदलियो ।

अहिले आएर यस्तो समाज आउँदैछ जहाँ गाडीमा चालक नै चाहिँदैन । नेपाली नेताले जे फलाके पनि दुनियाँ बदलिँदैछ । दुनियाँ बदलिँदैछ भन्नुको मतलब दुनियाँमा उत्पादन हुने प्रणाली बदलिँदैछ । माक्र्संले एङगल्सले भनेको पनि जेजस्ता प्रकारले उत्पादनको प्रणाली बदलिँदैछ, एक प्रकारले विधिवत हुन्छ । अर्थात तपाईले चामल दाल कहाँबाट खानु हुन्छ ? सिमलटोकीबाट खेती गरेर खानुहुन्छ भने एक किसिमको हुन्छ । या लहान बजारमा आएको छ । जागिर छ भारतबाट चामल दाल मगाएर खान्छु भन्दा अर्को किसिमको हुन्छ ।

माक्र्सले के भनेका छन् भने मानिसले बाँच्नका लागि खाने, पिउने, एकसरो लुगा लगाउने, जाडोको लागि मोटो लुगा र अनुकुल ओच्छ्यान, बरु एउटा छाप्रो चाहिने जस्ता आधारभूत आवश्यकता चाहिन्छ । बस्नका लागि छत त चाहिन्छ चाहिन्छ, चाहे खरको छाना होस, चाहे पक्की । चाहे ओडार होस ।

ओडारको युगदेखि आजको मल्टिकम्प्लेक्सको युगमा आइपुगुन्जेल दुनियाँ ज्यूको त्यूँ छ । मानिसलाई बस्न घर छैन । ठीक त्यस्तै खानेकुरामा पनि डोसा, चाउचाउ, पिज्जा खाने की, चाउमिन खाने की अथवा दाल भात, ढिडो खाने ? खान त पर्छ पर्छ । तेस्रो लुगा त लाउनै पर्दछ । सुतिको लगाउने की, गाँजाको लगाउने कि ? अल्लोको लगाउने कि ? पोलिस्टरको लगाउने की ? लगाउन त लगाउनु नै पर्दछ ।

यहाँ आउँछ, समाजवाद र माक्र्सवाद । समाजवादले के भन्छ भने यसरी मानिसले आफ्नो आधारभूत आवश्यकताहरु पुरा गर्नका लागि जुनगतिविधि गर्दछन् त्यो गतिविधिलाई समाजवाद भन्दछन् । यदि गाउँमा तपाई हलो जोतेर चामल दाल खाँदै हुनुहुन्छ भने त्यहाँ हली बाँच्दछ । होइन हामीले बंगालको सिलिगुडी हुँदै दाल मगाएका छौं र बदलामा हामीले यहाँबाट चिया पठाएका छौं भने बेग्लै किसिमको हुन्छ । तपाई अहिले जुमबाट प्रोफेसर भएर पठाउनु हुन्छ र केटाकेटीलाई कपुरी क पढाउनु भयो भने बेग्दै किसिमको शिक्षक हुनुहुन्छ ।

भनेपछि अब अहिले अप्ठेरो के हो भने विगत ३०–४० बर्षले नेता त नयाँ आए, नेता यस्ता बेलामा आए कि उनीहरुले पढेका कुरा पुरानो भइसक्यो । बीपीको समाजवाद पनि पुरानो भइसक्यो । प्रचण्डको जनबादको पनि कुनै असर छैन । न नयाँ जनवादको असर छ ।

त्यसो भए नयाँ के थियो त ? कि त हाम्रो बुद्धिजीवि बर्ग अगाडी आउनु पर्दथ्यो र नेताहरुलाई तपाईहरुले बुझ्नु भएन, बुझ्नु पर्ने कुरा त यो भन्नु पर्दथ्यो । कि त नेताहरुले नै देशमा यत्रो ठूलो परिवर्तन आयो । चाहेर नचाहेर पनि परिवर्तनलाई रोक्न सक्दैनौं । अब दुवई मलेसियामा श्रम चाहियो हामीले रोजगारी दिन सकेनौं भने सबै त्यता जान्छन् । त्यहाँ श्रमशक्ति मेशिनीकरण भएको हुनाले त्यहाँका मानिस शारिरिक श्रम गर्न चाहदैनन् । शारिरिक श्रम गर्न नेपालबाट झिकाउँछन् । त्यहाँ यान्त्रिकिकरण, डिजिटलाइजेशन भइसकेको छ । त्यहाँका नागरिक शारिरिक काम गर्न नचाहेकाले यहाँबाट काम गर्ने मानिस लगेका हुन् ।

बजारमा पनि उत्पादनको तरिका बदलिसकेको छ । जस्तै हामीसंग अहिले हामीले चलाएको रेकर्डर सोनी कम्पनीको छ । यो जापानको हो तर यसको एउटा पूर्जा भारतमा एउटा चाइनामा एउटा ताइवानमा बनेको हुन्छ । जोडेर सोनी लेखेको हुन्छ । ज्यादातर सामान चीनमा बनेको छ ।

बनाउने तरिका पनि बदलिसक्यो । पहिले एउटा उद्योगमा बन्दथ्यो । उद्योगका मजदुरले हडताल गर्दथे । अब त यो बनाउने मजदुरहरुले पनि एक अर्कालाई चिन्दैनन् । देख्दा पनि देख्दैनन् । बोली भाषा पनि बुझ्दैनन् । त्यसैले दुनियाँमा तपाईलाई खान परेको छ, तपाईलाई लुगा लगाउनु परेको छ, तपाईलाई घर बनाउनु परेको छ । तर त्यो बनाउने पद्दती बदलिसक्यो ।

पहिले तामाका भाँडा कामीले बनाउँथे । तर अहिले अनेक थरीका भाडा आएका छन् । कामी त बेरोजगार भए । अब कामी कि त मन्त्री बन्नु प¥यो, कि त क्रान्तिकारी बन्नु प¥यो । परम्परागत उत्पादन प्रणाली बदलिएको छ । नेपालका सबैले यो कुरा बुझिसके । चीनले आर्थिक प्रगति कति गरिसक्यो । हामी भने नबुझी अलमलमा परिरहेका छौं ।

अलमल परेर नबुझेको मानिसले के गर्दछ । अर्काको नोकर बन्दछ । हामी अर्काको नोकर बन्ने दिशामा गइरहेका छौं । अब हामीलाई बस, गाडी, घोडा, कम्प्यूटर पनि चाहिएको छ । त्यस विषयमा थोर बहुत जानकारी भएका मानिस छन् भने पनि उनीहरु विदेश जान्छन् । यहाँ त्यो विषयमा पढाई नै छैन । अवसर पनि कम छ ।

जुन विषय संसारमा बिक्छ त्यो विषय पढ्ने होड चलेको छ । यो विषय त नेपालमा बिक्दैन त ? भनेपछि विदेश जान बाध्य हुनुपर्दछ । बडो विचित्रको अवस्था छ । हामी संसारसंग निर्भर छौं । यस्तो अवस्थामा हामीले परिवर्तन ल्याउने हो भने हामीले कसरी परिवर्तन ल्याउन सक्छौं ? यो नै मूख्य हो ।

(नेपालमा समाजवादको ढाँचा कस्तो बनाउँदा प्रभावकारी हुन्छ भन्ने विषयमा केन्द्रित रहेर डा. विजयप्रसाद मिश्रले समाजवादी चिन्तक प्रदीपगिरिसँग तीनबर्ष अघि गिरिको बस्तीपुर स्थित आश्रममा गरेको कुराकानीको आधारमा तयार गरिएको यो लेख आज असोज १७ गते स्वर्गीय प्रदीप गिरिको ४५ औं दिनको पुण्यतिथिको अवसरमा बस्तीपुर आश्रममा उहाँको समाधीस्थल बनाउने कार्यक्रम रहेको सन्दर्भ पारेर प्रकाशन गरिएको छ । गिरिको समाजवादप्रतिको दृष्टिकोण लामो भएकोले तीन खण्ड पारेर प्रकाशन गरिनेछ । )

क्रमश :

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *