हिमानी ट्रष्टको न्यूयोर्कमा भाँडभैलो (हेर्नुहोस् तस्वीर र कागजातहरु)

डिसी नेपाल
१ कार्तिक २०७९ ७:१९

न्यूयोर्क। पूर्वयुवराज्ञी हिमानी शाहका नाममा खुलेको हिमानी ट्रष्ट, न्यूयोर्कमा भाँडभैलो र भद्रगोल भएको छ। फाउण्डेसनका न्यूयोर्क प्रमुख जोगरत्न  खड्गीलाई अपदस्त गरी प्रशासन निर्देशक डा.शंकर विसुन्केले आफैं प्रमुख भई कमिटी गठन गरेको घोषणा गरेपछि खड्गीले पनि विसुन्केलाई पदबाट बर्खास्त गरेका छन्।

अक्टोबर १५ तारिक शनिबार विसुन्केले एउटा भेला बोलाई माइन्युटसमेत गरेर फाउण्डेसनको न्यूयोर्क समिति पुनर्गठन गरेका थिए। भेलामा पूर्वकार्यसमितिका सबैको नाम उल्लेख गरिएको भए पनि माइन्युटमा जम्मा ४ जनाले मात्र हस्ताक्षर गरेको पाइएको छ।(हेर्नुहोस् माइन्युटको कपी)।

तर, यो काममा बहुमत सदस्यहरुको समर्थन भएको, उपस्थित हुन सक्नले उपस्थित भएर र नसक्नेले मौखिकरुपमा स्वीकृति दिएको दावी विसुन्केले गरेका छन्।

खड्गी र कोषाध्यक्ष कुमार श्रेष्ठलाई हटाई बनाएको नयाँ समितिको माइन्युटमा यसअघिको कार्यसमिति भंग गरी नयाँ कार्यसमिति गठन गरिएको कुरा उल्लेख छ।

यस्तो माइन्युट तयार पारी आफूलाई पदबाट बर्खास्त गरेको जानकारी पाएपछि खड्गीले फाउण्डेसनकै लेटरप्याडमा एक विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा उनले विसुन्केसहित चारजनालाई अवान्छित कार्य गरेको, संस्थाको नाम दुरुपयोग गरेको र अवैधानिक काम गरेको आरोप लगाउँदै बर्खास्त गरेको उल्लेख गरेका छन्।

उनले बर्खास्त गरेकाहरुमा शंकर विसुन्के, रुपा शाह, कान्छीमाया शेर्पा र आशा पाण्डे छन्। हिमानी ट्रष्टले व्यूरो कार्यालयका प्रमुखहरुलाई एम्बेसेडर भन्ने पद दिने गरेको छ भने कार्यसमितिका सचिवलाई प्रशासन निर्देशक पद दिने गरेको छ।

समाज सेवा गर्नका लागि भनेर पूर्वराजपरिवारले हिमानीका नाममा हिमानी ट्रष्ट खोलेको थियो। यसले नेपाल बाहिर पनि केही देशहरुमा आफ्ना शाखा कार्यालयहरु खोलेको छ। अमेरिकामा एउटा राष्ट्रिय तहको र अन्य केही राज्यहरुमा राज्य स्तरका शाखाहरु गठन गरिएका छन्।

न्यूयोर्कमा खड्गीको अध्यक्षतामा विसुन्केसहित कुमार श्रेष्ठ, जनकसिंह खड्का, राजन कर्माचार्य, पवनकली सोबाट चर्चामा आएकी माम्पी घोष, आशा पाण्डे, केशब श्रेष्ठ, कान्छीमाया शेर्पा, मनिषा केसी र प्रदीप मानन्धर थिए।

खड्गीलाई हटाई विसुन्केले केही नयाँ नाम थपेर रुपा शाह, केशब श्रेष्ठ, जनकसिंह खड्का, कान्छीमाया शेर्पा, माम्पी घोष, आशा पाण्डे, विनाम तिवारी, दीपेन्द्र नेपाली र मनिषा केसी रहेको समित गठन गरेको घोषणा गरेका छन्।(हेर्नुहोस् दुबैद्वारा जारी तस्वीर सहितका फ्लायर)।

यो परिवर्तनलाई नेपालको राजपरिवारले स्वीकृत दिएको हो कि होइन वा हिमानीकै इच्छामा भएको हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन। तर, डिसी नेपालसँगको कुराकानीमा अध्यक्ष (ट्रष्टको भाषामा एम्बेसेडर) खड्गीले अनैतिक तरिकाले भेला गरी हटाएको हल्ला चलाएको बताए।

उनले आफ्नो समिति यथावत र बैधानिक रहेको दावी पनि गरे। विसुन्केको समिति अवैध र उनका कार्य आपत्तिजनक रहेको दावी पनि गरे। उनले केही महिनाअघि हिमानी शाह अमेरिका भ्रमणमा आउँदा ट्रष्टका नाममा दाताहरुबाट उठेको रकमको १५ सय अमेरिकी डलरको हिसाव विसुन्केले देखाउन नसकेकोले आफूले उनलाई बारम्बार प्रश्न गर्दै आएको पनि बताए।

तर, खड्गीको दावी असत्य रहेको भन्दै विसुन्केले डिसी नेपालसँग भने, ‘पटक पटक बैठक बोलाउन भन्यौं उहाँले बोलाउनु भएन, सरकारको बर्थ डे(हिमनीको जन्मदिन) आउंदैछ सो दिन मनाउन छलफल गर्नुपर्ने विगत लामो समयदेखि केही भएन, बैठक पनि भएन, बुझ्दै जाँदा थाहा भयो उहाँ त स्टेट नै सरेर बफेलोतिर जानुभएको रहेछ। स्टेटमै नभएपछि किमिटीमा बस्न नमिल्ने नियम छ।’

उनले न्यूयोर्क आएको मौका छोपेर आफूले मेसेन्जर बैठक राखेको र त्यसमा कुरा उठेपछि पुनर्गठन गरौं भन्ने सल्लाह गरेर पनि पुनर्गठन गर्ने दिन बैठकमा नआएकोले आफूहरुले पुनर्गठनको निर्णय गरेको पनि बताए।

१५ सय अमेरिकी डलर रकमको हिसाव स्पष्ट पार्ने जिम्मा आफ्नो नभई कोषाध्यक्षको भएको तर कोषाध्यक्षले सो हिसाव नदेखाएको पनि उनले बताए। ‘त्यही कारण कोषाध्यक्षलाई पनि पुनर्गठनमा समितिमा राखिएन’, उनले भने।

हिमानी शाहले अमेरिका भ्रमण गर्दा केही शहरहरुलाई नेपालीहरुको भेला गराई आर्थिक संकलनसमेत गरेकी थिइन्।

तर, हिमानी स्वयंले ट्रष्टमा कति रकम जम्मा गरेको हो भन्नेबारे जानकारीसम्म नगराएको र पहिला उनले दिएको दान कति हो? समाजसेवामा पूर्वराजपरिवारले कति रकम लगाएको हो भन्ने प्रष्ट हुनुपर्ने अनिमात्र अमेरिकाबासी नेपालीजनले सहायता गर्ने भन्ने प्रश्न हिमानीमाथि नै तेर्सिएपछि आर्थिक संकलन पनि उल्लेख्य हुन सकेको थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *