भारतले निर्वाचन प्रयोजनको लागि हालसम्म नेपाललाई दियो २४ सयभन्दा बढी सवारीसाधन
काठमाडौँ। भारतले निर्वाचन प्रयोजनको लागि हालसम्म २ हजार ४ सयभन्दा बढी सवारीसाधन नेपाललाई उपहारस्वरुप उपलब्ध गराएको पाइएको छ। नेपाल सरकारको अनुरोधमा भारतले २०४६ सालयता सम्पन्न भएका निर्वाचनमा उक्त संख्यामा सवारीसाधन नेपाललाई उपलब्ध गरेको हो।
भारतले आज मात्र मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भनेर २०० वटा सवारीसाधन उपहारस्वरुप नेपाललाई उपलब्ध गरेको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका हुन् । यी सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने भारतीय दूतावासले जनाएको छ।
‘नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २ हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २ हजार ४०० भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ,’ काठमाडौंस्थित भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आज उपलब्ध गरिएका सवारीसाधनमध्ये १२० वटा सुरक्षा निकाय र ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने जनाइएको छ।
‘भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी सवारीसाधनको हस्तान्तरणले जनता जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ,’ भारतीय दूतावासले भनेको छ।







डिसी नेपाल








Facebook Comment