विराटनगरको आदर्श माविको मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण कर्मचारी महिला

डिसी नेपाल
२१ कार्तिक २०७९ २२:२९

मोरङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि विराटनगरस्थित एक मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण कर्मचारी महिला खटिने भएका छन् । मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालय मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारीले निर्वाचन गराउने मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए ।

मुख्य निर्वाचन कार्यालय मोरङका अनुसार प्रतिनिधिसभा क्षेत्र नं ६ र प्रदेशसभा ६ (२) मा पर्ने उक्त स्थानमा रहेको स्थलमा तीन मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक सुरक्षाकर्मी सम्पूर्णरुपमा महिलाको रहने जनाइएको छ ।

जिल्लामा रहेको छ प्रतिनिधि र १२ प्रतिनिधिसभामा निर्वाचनका लागि तीन सय छ मतदानस्थलमा आठ सय ३९ मतदान केन्द्रका लागि आठ सय ३९ मतदान अधिकृत र आठ सय ३९ सहायक मतदान अधिकृत गरी एक हजार छ सय ७८ छनोट गरिएको छ । यसैगरी प्रत्येक मतदान केन्द्रमा पाँच जना सहायक र एक जना सहयोगी गरी जम्मा पाँच हजार ३४ कर्मचारी रहने व्यवस्था गरिएको सूचना अधिकारी बुढाथोकीले बताए ।

यस्तै पाँच सयसम्म मतदाता रहेका स्थानमा तीन जना स्वयंसेवक र पाँच सय भन्दाबढी भएमा चार जना स्वयंसेवक राख्ने व्यवस्था गरिएको छ । प्रदेश निर्वाचन कार्यालयले छनोट गरिएको मोरङका छवटै क्षेत्रका मतदात अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन स्वतन्त्र, स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन यही कात्तिक २९ र ३० गते तालिम दिने व्यवस्था गरिएको छ ।

मतदान अधिकृतले मङ्सिर १ गते बेलुकीसम्म आआफ्नो मतदान स्थलमा मतदान सामग्रीसहित पुग्नुपर्ने निर्देशन दिइएको छ । मङ्सिर २ गते मतदान अधिकृतले आफ्नो मतदान केन्द्र ‘१’ बाट मतदाता परिचयपत्र वितरण तथा मतदान केन्द्र निर्माणको व्यवस्थापन गर्नुपर्नेछ ।

मोरङमा रहेको छ मतदान अधिकृतको कार्यालयमा प्र्रतिनिधि र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकतर्फको मतमत्र प्राप्त भई प्याकिङ गर्ने कार्य भइरहेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए। उनले निर्वाचनसम्बन्धी अन्य सामग्री आउनेक्रम जारी रहेकोसमेत बताए ।

रतुवामाई नगरपालिकालाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा स्पष्टीकरण सोधिएको छ । उक्त नगरपालिकाले निःशुल्क जग्गा गराएका सम्बन्धमा उजुरीका आधारमा स्पष्टीकरण सोधिएको हो । कार्यालयले विनाकार्यक्रमा नगरको बजार क्षेत्रमा माइकिङ गरी ध्वनि प्रदूषण गरेको सम्बन्धमा सबै राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारलाई सचेत गराउनुका साथै विद्युतीय पोलमा टुङ्गिएको पार्टी र चुनाव चिह्न भएको झण्डा हटाउन निर्देशन दिएको सूचना अधिकारी बुढाथोकीले बताए।

यसैबीच प्रदेश निर्वाचन कार्यालय विराटनगरले निर्वाचनका लागि विभिन्न ५८ सामग्री प्रदेशका छ निर्वाचन अधिकृत कार्यालयमा पठाउनेक्रम जारी राखेको छ । कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार मतपेटिका, रवर म्याट, छेकवार, सुरक्षा सिल, भित्र लेखिएको बोर्ड, प्रतिनिधि र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र पठाइसकेको छ भने अन्य सामग्री पठाउनेक्रम जारी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *