अमेरिकामा इतिहास रच्दै ह्यारी भण्डारी राज्य-सांसद पदमा पुन: निर्वाचित

डिसी नेपाल
२३ कार्तिक २०७९ १०:०४

बाल्टिमोर। नेपाली मुलका ह्यारी भण्डारी अमेरिकाको मेरिल्याण्ड राज्यसभाको सदस्य(डेलिगेट) पदमा पुन विजयी भएका छन्। नोभेम्बर ८ तारिकमा भएको निर्वाचनमा उनी डेमोक्रेटिक पार्टीबाट उम्मेद्वार भएका थिए।

भर्खरै सम्पन्न मत गणना  मा मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट उनले राज्यसभा सदस्य पदमा विजय प्राप्त गरेका हुन्। मतगणना स्थलबाट पत्रकार तरूण पाैडेलले दिएकाे जानकारी अनुसार उनले आफ्ना प्रतिष्पर्धी रिपब्लिकन पार्टीका उम्मेद्वारलाई उल्लेख्य मतले पराजित गरेका छन्।

भण्डारी दोस्रोपटक मेरिल्याण्ड राज्यको राज्यसभा सदस्य पदमा विजयी भएका हुन्। उनी अमेरिकी राजनीतिमा सक्रिय थोरै नेपालीमूलका राजनीतिकर्मीमध्येका एक हुन्। उनले यसअघि नै अमेरिकामा पहिलो नेपाली मूलका राज्यसभा सदस्य निर्वाचित भएको इतिहास बनाइसकेका छन्।

नेपालको पर्वत जिल्लाको तत्कालीन थापाथाना गाविस (हालको फलेवास नगरपालिका) जन्मेका भण्डारीले शंकरपोखरीस्थित त्रिभुवन माविबाट एसएलसी पास गरेका थिए।

यसअघिको कार्यकालमा नेपाली मूलका अमेरिकीहरुका लागि विभिन्न कार्य गरेर चर्चामा आएका उनले मुख्यरुपमा नेपालीहरुको महान चाड दशैंमा एक दिन विदा दिने गरी मेरिल्याण्ड राज्यका दुबै संसदबाट पारित गराएका छन्।

उनले प्रस्तुत गरी पारित गराएको प्रस्तावअनुसार हरेक वर्ष अक्टोवर ५ तारिकमा दशैं विदा दिइने छ। उनले आफ्नो निर्वाचन क्षेत्रको बाल्टिमोर काउण्टी सरकारबाट दीपावलीका दिन सो पर्व मनाउनेहरुलाई विद्यालयबाट विदा दिने नीति पास गराएर लागू गरिसकेका छन्।

उनले मेरिल्याण्डको नेपालीहरुको संस्था बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका(वाना)का लागि संसदबाटै पारित गराएर दुई लाख अमेरिकी डलर बजेट उपलब्ध गराएका छन् भने हिन्दू बुद्ध मन्दिरका लागि पनि उनले सरकारी तहबाट सहयोग उपलब्ध गराएका छन्।

अघिल्लो कार्यकालमा स्वास्थ्य र शिक्षासँग सम्बन्धित धेरै विलहरु पास गराएका उनले बाल्टिमोरमा विनाकारण गोलीको शिकार भई मारिएका संखुवासभाका विद्यार्थी सागर घिमिरेको नाममा उनले सागर घिमिरे एक्ट प्रिभेन्टिंग भायोलेन्स इन कम्युनिटी नामक विधेयक पनिे छलफलका लागि अघि बढाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *