अमेरिकामा नेपाली मूलका आइत गुरुङ पत्नी हत्यामा दोषी ठहर

डिसी नेपाल
२८ कार्तिक २०७९ ६:३८

न्यूयोर्क। मासु काट्ने हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको आरोप लागेका नेपाली आइत गुरुङलाई न्यायालयले दोषी ठहर गरेको छ। उनलाई फर्ष्ट डिग्री मर्डर र सेकेन्ड डिग्री मर्डर दुबैमा दोषी प्रमाणित गरी सजाय सुनाइएको हो।

श्रीमती योगेश्वरी खड्का गुरुङको हत्या गरेपछि उनले सासु तुलसाको समेत हत्याको प्रयास गरेको र सासुलाई घाइते बनाएको आरोप लागेको थियो। न्यूयोर्क नजिकको भर्मण्ट राज्यको न्यायालयले गुरुङलाई दोषी ठहर गरी नोभेम्बर ३ तारिकका दिन जेल सजायको फैशला गरेको थियो।

सन् २०१७ को अक्टोवर २७ मा गुरुङले आफ्नी पत्नीको हत्या गरी सासुलाई पनि आक्रमण गरी घाइते बनाएका थिए। तर, सासु तुलसा भने भागेर बाँचेकी थिइन्। घटना भएको ५ बर्षपछि नोभेम्बर ३, २०२२ मा भर्मण्टको न्यायालयले यो मुद्दामा फैसला सुनाएको हो।

भर्मण्ट राज्यको कानुनअनुसार, फर्ष्ट डिग्री मर्डर प्रमाणित भए कम्तिमा ३५ बर्ष र बढीमा आजीवन कारावासको सजाय भोग्नु पर्छ। सेकेन्ड डिग्री मर्डरमा कम्तिमा २० बर्ष र बढीमा आजीवन जेलको सजाय दिइने उल्लेख छ। गुरुङलाई दोषी ठहर गरे पनि अजीवन कारावास हो कि होइन भन्ने आदेशका उल्लेख भएको छैन।

उनको मानसिक स्वास्थ्यलाई समेत विचार गरेर उनलाई जेल पठाउने आदेशका लागि अझै केही हप्ता लाग्न सक्ने बताइएको छ। फैसला पूर्व यो प्रकरणमा लगातार ४ दिनसम्म बहश भएको थियो।

गुरुङ पक्षका वकिलहरुले घटनाको समयमा गुरुङको मानसिक स्वस्थ्य ठीक नभएको र मानसिक रोगका कारण त्यस्तो घटना भएको भन्दै मानसिक स्वास्थ्य परीक्षणका कागजहरु पनि अदालतसमक्ष प्रस्तुत गरेका थिए। तर, उनीहरुको तर्कलाई न्यायालयले मान्यता दिएन।

तर, सन् २०१९ मा भने चिटेन्डेन्ट काउन्टी काउन्सिलका न्यायाधिबक्ताले मानसिक स्वास्थ्यसँग जोडिएकाले यो मुद्दा खारेज गरी गुरुङलाई राहत दिएका थिए। काउन्टी न्यायाधिबक्तको सो निर्णय उपर भर्मण्टकै गभर्नर फिल स्कटको आदेशमा राज्यका महान्यायाधीबक्ताले पुन मुद्दा दायर गरेका थिए।

नोभेम्बर ३ को फैशलापछि गभर्नर स्कटले सार्वजानिक प्रतिक्रिया दिँदै हिंस्रकलाई स्वतन्त्रता दिन नमिल्ने र अदालतले उचित आदेश दिएकोले न्याय भएको उल्लेख गरेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।

विगतमा डिप्रेसनको समस्यामा भएका कारण सम्भावित दुर्घटनाहरु नहुन भन्नका लागि गुरुङलाई अर्को आदेश नभएसम्मका लागि हालसम्म उनलाई राखिएकै अस्पतालमा नियन्त्रण र निगरानीमा राख्ने आदेश पनि न्यायालयले दिएको छ। यो प्रकरणमा स्थानीय टीभी र संचारमाध्यमहरुले अदालती सजायसम्बन्धी भिडियोहरु पनि सार्वजानिक गरेका छन्।

हेर्नुहोस् डब्यूसीएएक्स मिडियाले सार्वजानिक गरेको भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *