सडक कालोपत्रेको काम सुचारु नभए मेयर–उपमेयरलाई नै थुन्ने चेतावनी

डिसी नेपाल
१ मंसिर २०७९ १८:३०

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले सडक (१०.९७४ किलोमिटर) कालोपत्रेको काम तत्काल सुचारु नगराए नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्ने चेतावनी दिएका छन् ।

स्थानीय हाटडाँडा टोल पुर्वाधार विकास तथा व्यवस्थापन प्रवद्र्धन समितिको अगुवाईमा गएको स्थानीयले गत १९ भदौमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन–पत्र बुझाउँदै सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुचारु गर्न÷गराउन माग गरेका थिए । सो मागको सुनुवाई नभएको भन्दै दिपेन्द्र बस्नेत, बिनोद खड्का लगायतका स्थानीय युवाले बिहिबार मेयर तीर्थराज भट्टराईलाई ज्ञापन–पत्र बुझाउँदै सडक कालोपत्रेको काम यथाशिघ्र सुचारु नगराए हड्तालमा उत्रने चेतावनी दिएका हुन् ।

ज्ञापन–पत्रमा कालोपत्रेको काम तत्काल सुरु नभए दिक्तेलबजारमा सवारी आवागमन बन्द गर्ने, हड्ताल गर्नेदेखि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्नेसम्ममा आन्दोलन गर्ने उल्लेख गरेका छन् । कालोपत्रेको काम अलपत्र हुँदा स्थानीयलाई हिँडडुल गर्नै नहुनेगरी वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडक भएको बस्नेतले बताए । यस्तै कालिका मन्दीर र महादेवगुफा जानेआउने दर्शनार्थीलाई समेत असहज भइरहेको जनाइएको छ । मेयर भट्टराईले ‘आफैलाई थुन्ने’ ज्ञापन–पत्र मुसुमुसु हाँस्दै बुझेका थिए ।

२०७५ सालमा १८ महिनाभित्र पूरा गर्नेगरी ठेक्का लागेको डिबिएसटी कालोपत्रेको काम अलपत्र परेपछि स्थानीय बिरोधमा उत्रिएका हुन् । पटक–पटक म्याद थप गर्दा पनि निर्माण कम्पनी याक्थुङहाङ÷साप÷सिरुवा जेभीले कालोपत्रेको काम अलपत्र पारेको भन्दै स्थानीयले गत २६ भदौभित्र काम सुचारु गराउनका लागि ध्यानाकर्षण गराएका थिए । तर ध्यानाकर्षण बुझाएको दुई महिना बितिसक्दा पनि काम अघि नबढेको स्थानीयले बताएका छन् ।

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुने सडक राष्ट्रिय पुःननिर्माण प्राधिकरणको भ्याट सहित २१ करोड १ लाख ८८ हजार खर्चमा कालोपत्रे सुरु गरिएको हो । निर्माण कम्पनीले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक कालोपत्रेको सम्झौता गरेको थियो । तर हालसम्म कालोपत्रेको करिब ६० प्रतिशत मात्र प्रगती भएको छ ।

दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा बिमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेलतर्फबाट ९ जेठ २०७८ देखि आरसिसि ढलान सुरु गरिएको थियो । अस्पतालचोकबाट हाटडाँडा (केशव बस्नेतको घर)सम्म आरसिसि ढलान तथा सो स्थानदेखि आहालेसम्मको खण्डमा डिबिएसटी कालोपत्रे गर्ने सम्झौता छ ।

निर्माण कम्पनीले ७ चैत २०७६ सम्मको म्याद गुजारेपछि २९ बैसाख २०७८ सम्मका लागि प्रथम पटक म्याद थप गरिएको थियो । सडक कालोपत्रेको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौंलागाईलाई ५ कात्तिक २०७६ मा दिक्तेलमा आयोजना गरिएको बैठकमा बोलाइएको थियो । तर, चौंलागाईले गरेका प्रतिवद्धता अनुशार काममा प्रगती भएनन् । प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले १ मंसिर २०७५ मा आयोजना शिलान्यास गरेका थिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालय खोटाङले सो आयोजना हेर्दैआएको थियो । सो कार्यालयलाई प्राधिकरणले स्थानीय पुर्वाधार बिभाग (डोली)लाई हस्तान्तरण गरेपछि काममा समस्या भएको निर्माण कम्पनीका प्रतिनिधि खगेन्द्र राईले बताए । Photo: Nepalwide




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *