‘समृद्धिको मार्गः कर्णाली करिडोर’

डिसी नेपाल
१६ मंसिर २०७९ १६:१२

मान्म । विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् । ‘साउथ एण्ड नर्थ एक्सिस गोर्थ’का रुपमा लिइएको कर्णाली करिडोरले नेपाल, चीन र भारत जोड्ने छ ।

कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्लालाई जोड्ने छ । यो राजमार्ग चीनको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म विस्तार पुग्नेछ । कर्णाली करिडोर नामकरण गरी ट्रयाक खोल्न थालेको २१ वर्ष भएको छ । कर्णाली करिडोरको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्लाको सिमकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी छ सय ८२ किलोमिटर छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४१० किलोमिटर मात्रै रहेको छ ।
कर्णालीवासीको आशाको केन्द्रका रुपमा रहेको कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेना जिम्मा एक सय ९६ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खोलिसकेको छ ।

चीनको सिमाना हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको एक सय ४६ किलोमिटर हिल्सा–हुम्ला सडक आयोजनाले कामको जिम्मा लिएको छ । त्यो सडकखण्डको काम पनि तीब्र रुपमा भइरहेको छ । विसं २०७१ चैत ५ गतेदेखि नेपाली सेनाले काम सुरु गरेको सो सडकखण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई २०७८ असार ३१ गते हस्तान्तरण गरेको थियो ।

कर्णाली करिडोरअन्तर्गतको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेनाले निर्माण जिम्मा लिएको सडकमध्ये एक सय ९६ किलोमिटर सडक निर्माण भएर सवारी साधन चल्न थालेका छन् । बाँकी सडकखण्ड निमर्णाधीन अवस्थामा रहेको हिल्सा हुम्ला सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए ।

ठेकेदारमार्फत काम गराइरहेको आयोजनाले कडा चट्टाने भिर भएका कारणले अहिले निर्माण कार्यमा समस्या भएको यादवले बताए । विष्फोटक पदार्थका लिएर नेपाली सेनाले हुम्ला सडकखण्डमा पनि काम गरिरहेको जानकारी दिए ।

बजार क्षेत्र वृद्धि

कर्णाली करिडोरमा सवारी साधन चल्न थालेपछि आर्थिक चहलपहल बढ्न थालेको छ । करिडोर क्षेत्रका आसपासमा बजार हुनसक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक गतिविधि बढेको हो । कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म दर्जनौं ठाउँहरु बजारका रुपमा विस्तार भएको बाजुरा स्वामीकातिका गाउँपालिकाका पूर्व अध्यक्ष चिरञ्जीवी शाहीले बताए ।

कालीकोटको खुलालु, लालिघाट, रेगिल, सान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको कोल्टी पिलिचौर, हिमाली गाउँपालिकाको धुलाचौरलगायतका क्षेत्र अहिले बजारका रुपमा विकसित भएका छन् । यी बजारमा अहिले व्यापारी केन्द्रका रुपमा स्थापित हुन थालेको कालीकोट रास्कोट नगरपालिका–८ का अनन्त बरालले बताए ।

सडक सुविधा नहुँदा जितेगडा बजारसम्म पिठ्यूँमा भारी बोकेर आउने यहाँका बासिन्दा अहिले घरमा केही न केही उत्पादन गरी व्यापार व्यवसायमा संग्लन गरेको कालीकोट उद्योग वाणिज्य सङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष मथुरा न्यौपाने जानकारी दिनुभयो । “करिडोर क्षेत्रका धेरै ठाउँ अहिले बजारका रुपमा विकसित भएका छन्”, उनले भने, “विगतका पिठ्यूँ भारी बोकेर नुनतेल गर्ने करिडोर क्षेत्रका बासिन्दा अहिले गाडीमा सरर घरमा नै पुग्ने गरेका छन् ।”

करिडोर क्षेत्रमा तरकारी खेती विस्तार

कर्णाली करिडोरमा सवारी साधन चल्न थालेपछि आसपासका मानिस तरकारीखेतीतर्फ आकर्षित भएका छन् । विगतमा रोजगारको केही उपाय नहुँदा भारतमा रोजगारी गर्न जानेहरु अहिले तरकारी खेती गर्न थालेका छन् । गाउँगाउँमा नै बजार बनेका कारणले बारीमा लगाएको तरकारी कता लगेर बेच्ने भन्ने समस्या नभएको रास्कोट नगरपालिका–६ भात्तडीका किसान नरप्रसाद बरालले बताए ।

कर्णाली करिडोर क्षेत्रमा उत्पादन भएको वस्तुहरु हिमाली जिल्लामा र तराईका जिल्लामा पठाउन सजिलो भएकाले अहिले धेरै जसो मानिस कृषि पेशामा संग्लन रहेको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।

बाजुरा जिल्लाको स्वामीकार्तिक–खापर गाउँपालिकामा उत्पादन हुने गरेको स्याउ विगतमा बिक्री नहुँदा गाई भैँसीलाई खुवाउनुपर्ने अवस्था थियो । अहिले सडक सञ्चालनमा आएपछि बजारीकरण गर्न कुनै समस्या नभएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए । उनका अनुसार यहाँका किसानले उत्पादन गरेको स्याउ सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी पुगेको छ । बजार विस्तार हुँदा स्याउले राम्रो मूल्य पनि पाएको स्वामीकार्तिक–खापर गाउँपालिका स्वाफ्यूचर स्याउ कृषक समूह अध्यक्ष धनबहादुर रावलको भनाइ छ । उनले भने, “अहिले यहाँ उत्पादन गरिएको स्याउ बजारीकरणमा समस्या छ्रैन् ।”

विगतमा परिवार पाल्न खेती किसानमा मात्र सिमित रहेका करिडोर क्षेत्रका स्थानीयवासीले अहिले विभिन्न पेशा व्यवसायमार्फत आम्दानी लिन थालेका छन् । विगतमा कुनै आयस्रोत नभएका मानिसले पनि अहिले बजार क्षेत्रमा होटेल व्यवसाय सुरु गरेका छन् । पचालझरना गाउँपालिका अध्यक्ष देवजङ्ग शाहीले भन्छन्, “अहिले करिडोर क्षेत्रमा होटेललगायतका अन्य व्यापार व्यवसायको वृद्धि भएको छ । मानिसले अहिले राम्रो आम्दानी लिन थालेका छन्” उनले भने ।

पुल निर्माण तथा सडक विस्तार

कर्णाली करिडोरमा नौ वटा पक्की पुल निर्माण हुने भएका छन् । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म १३ वटा पक्की पुल निर्माण हुने भएका हुन् । कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु खोला, सान्नीघाट खोला र फुगाड खोला पक्की पुल निर्माण हुने भएको हो । बाजुराको जुड्डी खोला, बूढीगाड खोला, गल्फगाड खोला र कवाडी खोला पक्की पुल निर्माण हुने भएको हो ।

त्यस्तै हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हिल्सा–सिमकोट सडक आयोजना हुम्लाले जनाएको छ । पक्की पुलका लागि ठेक्का प्रक्रिया अगाडी बढेको सडक आयोजना हुम्लाका इञ्जिनीयर वीरेन्द्र यादवले बताए । “ठेक्का प्रक्रिया अगाडि बढेको छ । यी खोलामा चाँडै पक्की पुल निर्माणको काम अगाडि बढ्छ ।”

कर्णाली करिडोरअन्तर्गत कालीकोट खण्ड फराकिलो बनाउन थालिएको छ । नेपाली सेनाले गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो । कालीकोट जिल्लामा पर्ने खुलालुदेखि लैफुसम्मको ४२ किलोमिटर सडक फराकिलो बनाउन थालिएको छ । सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरुले काम शुरु गरेको आयोजना प्रमुख यादवले जानकारी दिए ।

कर्णाली करिडोर साँघुरो हुँदा यातायात सञ्चालनमा समस्या भएका कारणले फराकिलो पार्न लागिएको प्रमुख यादवले बताए ।

करिडोरअन्तर्गतको ४० किलोमिटर कालिकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र एक सय १३ किलोमिटर हुम्ला खण्ड रहेको छ । अहिलेसम्म कर्णाली करिडोर निर्माणमा एक अर्ब पाँच करोड ७७ लाख रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *