रुकुम पश्चिमका १६ वटा सामुदायिक विद्यालय समायोजन
फाइल फोटो
रुकुम पश्चिम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयलाई समायोजन गरेको छ।
गाउँ कार्यपालिकाको बैठकले विद्यार्थी सङ्ख्या न्यून भएका १६ वटा विद्यालय समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार निर्णय गरेको हो।
सोही निर्णयअनुसार विद्यालय समायोजन यसै शैक्षिक सत्रदेखि लागू भएको सानीभेरी गाउँ कार्यपालिकाका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिए।
उनका अनुसार कार्यपालिकाको बैठकले १५ वटा विद्यालयको तह घटुवा तथा कक्षा घटुवा गर्ने निर्णय गर्दा उक वटा विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको थियो। सोहीअनुसार बालकल्याण आधारभूत विद्यालय पोखेरोल, कालिका आधारभूत विद्यालयमा शाखा विस्तार भएको छ।
त्यस्तै शीतल माध्यामिक विद्यालय फक्रैया, बालज्योति माध्यामिक विद्यालय गिठाकोट, सूर्योदय माध्यामिक विद्यालय बेल्टापु र जनज्योति माध्यामिक विद्यालय मेलचौरमा कक्षा ११ र १२ बाट कक्षा १० मा भारिएको छ।
अन्य चारवटा माध्यामिक विद्यालयलाई तह घटुवा गर्दै आधारभूत तहमा झारिएको छ। ती विद्यालयमा भेरी दोभान माध्यामिक विद्यालय चाइनाबगर, जनप्रिय मावि हासिवाङ, सरस्वती मावि चिन्तु, र शिव मावि काफलबोट छन्।
भेरी दोभानमा माविमा कक्षा १२ सम्म र अन्य तीन वटा विद्यालयमा १० कक्षा सम्म पढाइ सञ्चालन हुने गरेको थियो। अब भने कक्षा ८ सम्म मात्र पढाइ सञ्चालन हुने गाउँपालिका प्रवक्ता घर्तीले जानकारी दिए।
त्यस्तै तीन वटा आधारभूत विद्यालयलाई प्रारम्भिक बाल विकास केन्द्रमा र कक्षा १ देखि पाँचसम्म पढाइ सञ्चालन भएका चार वटा आधारभूत विद्यालयलाई कक्षा ३ सम्म सञ्चालन गर्ने गरी कक्षा घटाएको छ।
पालिकाभर ४५ वटा सामुदायिक विद्यालय छन् । त्यसमा १६ वटा विद्यालयलाई समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा भूपासिंह विष्टले जानकारी दिए।
उनका अनुसार विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार, शिक्षकको दरबन्दी, विद्यालय–विद्यालयबीचको दुरीलगायतका आधारमा विद्यालय समायोजन तथा तह मिलान गरिएको जनाइएको छ।
(((
No ads found for this position

डिसी नेपाल
Facebook Comment