देशभर टीकाको चटारो हुँदा डोल्पाको त्रिपुराकोटमा भने पूजापछि मात्रै दशैंको टीका

डिसी नेपाल
४ कार्तिक २०८३ ८:३३
8
Shares

सुर्खेत। देशभर विजयादशमीका दिन बिहानैदेखि टीका लगाउने शुभसाइतको चटारो भइरहँदा डोल्पाको त्रिपुराकोटमा भने प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिरको पूजा सम्पन्न हुने प्रतीक्षा गरिन्छ। यहाँ पञ्चाङ्गले निर्धारण गरेको साइतभन्दा देवीको विशेष पूजाविधि पूरा हुनुलाई नै टीका लगाउने मुख्य आधार मान्ने गरिएको छ।

परापूर्वकालदेखि चल्दै आएको परम्पराअनुसार दशमीको बिहानै स्थानीयहरू घरबाट टीका र जमरा बोकेर मन्दिर पुग्ने गर्दछन्। मन्दिरमा पुगेर देवीलाई टीका-जमरा चढाउने र पूजाआजामा सहभागी हुने चलन छ। मन्दिरको धार्मिक विधि पूरा गरी देवीलाई मूल मन्दिरभित्र प्रवेश गराएपछि मात्रै घरघरमा टीकाटालो सुरु हुने मन्दिरका पुजारी भानुचन्द्र उपाध्यायले जानकारी दिएका छन्।

“नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै विशेष साइतमा मात्रै टीका लगाइन्छ,” पुजारी उपाध्यायले भने, “मन्दिरको पूजाविधि सकिन प्रायः साँझ पर्ने भएकाले त्यसपछि मात्रै टीकाटालो सुरु हुन्छ।”

त्रिपुराकोटको दशैँ देवीप्रतिको अगाध आस्था र पुर्खादेखि चल्दै आएको धार्मिक मान्यतासँग जोडिएको छ। मन्दिरको पूजाविधि पूरा नगरी टीका लगाउँदा शुभ नहुने विश्वासका कारण स्थानीयवासीले वर्षौँदेखि यो परम्परालाई निरन्तरता दिँदै आएका हुन्।

मन्दिरमा पूजा सकिएर टीका सुरु भएपछि मात्रै परिवारका सदस्य र आफन्तहरू भेला भई ज्येष्ठ नागरिक तथा मान्यजनबाट आशीर्वाद लिने गर्दछन्। साँझपखबाट सुरु हुने टीकाटालो कतिपय घरमा भने मध्यरातसम्म जारी रहने गर्दछ।

त्रिपुराकोटको यो मौलिक चलन डोल्पाका अन्य क्षेत्रभन्दा निकै भिन्न छ। डोल्पाकै दुनै, लिकु, पहाडा, रह, काइगाउँ, कालिका, जुफाल र माझफाललगायतका क्षेत्रमा भने पञ्चाङ्ग तथा ज्योतिषले निर्धारण गरेकै शुभसाइतमा दशैँको टीका लगाउने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *