विजयादशमीको धार्मिक तथा सांस्कृतिक महत्त्व: नवदुर्गाको प्रसाद, रातो टीका र आशीर्वचनको महिमा
काठमाडौं। विजयादशमी केवल हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व मात्र नभई नवरात्रभर गरिएको देवी भगवतीको पूजा–आराधनाको प्रसाद र आशीर्वाद ग्रहण गर्ने अति पावन दिनका रूपमा लिइन्छ। धार्मिक पौराणिक मान्यताअनुसार भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग जोडिएकाले पनि विजयादशमीको विशेष महत्त्व रहेको छ।
उपप्राध्यापक डा. नारायणप्रसाद निरौलाका अनुसार विजयादशमी नवरात्रभर गरिएको देवी आराधनाको प्रसाद र आशीर्वाद ग्रहण गर्ने मुख्य अवसर हो। यस पर्वको मूल भाव देवी भगवतीको प्रसाद ग्रहण गर्नुका साथै मान्यजन तथा अग्रजहरूबाट आशीर्वाद लिनु हो। नवरात्रभर गरिने विशेष पूजा–आराधनाको समापन दशमीका दिन विसर्जनसँगै हुने र त्यसपछि टीका तथा जमरा ग्रहण गर्ने परम्परा रहँदै आएको छ।
“विजयादशमीका दिन विशेष गरी भगवतीको प्रसाद ग्रहण गरिन्छ। जसरी भान्सामा सबै परिकार तयार भइसकेपछि भोजन गर्ने अन्तिम समय आउँछ, नवरात्रको शक्ति स्वरूप अन्तिम प्रसाद ग्रहण गर्ने उत्तम समय भनेकै विजयादशमी हो,” डा. निरौलाले भने।
सप्तमीको फूलपातीदेखि नवमीसम्म विशेष पूजा–आराधना गरिसकेपछि दशमीका दिन विधिपूर्वक विसर्जन गरी टीका, जमरा र प्रसाद ग्रहण गरिन्छ।
रातो टीका र जमराको धार्मिक अर्थ
रातो टीकालाई शक्ति, शुभता र मङ्गलको प्रतीकका रूपमा लिने गरिन्छ। भगवती देवीलाई रातो वस्तु अत्यन्त प्रिय मानिने भएकाले शक्तिको उपासना गर्ने परम्परामा रातो टीका लगाउने चलन रहेको डा. निरौला बताउँछन्। यद्यपि, आ–आफ्नो स्थानीय तथा कुल परम्पराअनुसार कतिपय समुदायमा सेतो टीका लगाउने प्रचलन पनि रहेको छ।
त्यस्तै, जमरालाई देवीको प्रिय वस्तु र प्रसादका रूपमा ग्रहण गरिन्छ। घटस्थापनाका दिन जौ रोपेर नौ दिनसम्म हुर्काइएको जमरा दशमीका दिन देवीलाई अर्पण गरी मान्यजनको हातबाट प्रसादका रूपमा शीरमा पहिरिने गरिन्छ।
साइत र शुभ समय
विजयादशमीका दिनभरि नै टीका लगाउनका लागि शुभ समय रहने डा. निरौलाको भनाइ छ। पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गर्ने विशेष साइत मुख्यतः राष्ट्रप्रमुख तथा विशिष्ट व्यक्तिहरूका लागि उपयोगी हुने भए पनि विजयादशमी आफैँमा स्वयं सिद्ध शुभ दिन भएकाले सर्वसाधारणका लागि टीका लगाउन विशेष साइत नै पर्खिनुपर्ने बाध्यता रहँदैन। शास्त्रमा विजयादशमीलाई सम्पूर्ण शुभ कार्य सिद्धिका लागि उत्तम समय मानिएको छ, त्यसमा पनि श्रवण नक्षत्रयुक्त विजयादशमीलाई झन् बढी शुभ मानिन्छ।
आशीर्वचनको महत्त्व र मर्म
दसैँमा मान्यजनले दिने आशीर्वचनको ठूलो धार्मिक तथा आध्यात्मिक महत्त्व छ। विजयादशमीमा विशेष गरी देहायको श्लोकमार्फत आशीर्वचन दिइन्छ:
आशीर्वचन श्लोक:
आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्यं नहुषे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां शौर्यं सूर्यसुते
कीर्तिश्च नारायणे
यस आशीर्वचनमार्फत द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु, राजा दशरथको जस्तो श्री (सम्पत्ति/समृद्धि), भगवान् रामको जस्तो शत्रु नाश गर्ने सामर्थ्य, राजा नहुषको जस्तो ऐश्वर्य, बलरामको जस्तो शारीरिक बल, युधिष्ठिरको जस्तो सत्यनिष्ठा, विदुरको जस्तो ज्ञान-विज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भन्ने कामना गरिन्छ।
नेपाली समाजमा विभिन्न देवीका मन्त्रहरूसँगै ‘आयुर्द्रोणसुते’ श्लोक आशीर्वचनका रूपमा बढी प्रचलित छ। यसरी विजयादशमी केवल टीका-जमरामा सीमित नरही शक्ति, शुभता, ज्ञान र सद्भावको आशीर्वाद साटासाट गर्ने महत्त्वपूर्ण धार्मिक-सांस्कृतिक पर्वका रूपमा मनाइन्छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment