बडादसैँमा उपत्यकावासीका लागि प्रहरीको निःशुल्क बस सेवा
काठमाडौं । बडादसैँको अवसरमा आम नागरिकको सुविधा र सहज आवागमनलाई ध्यानमा राख्दै नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आज पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। चाडपर्वका बेला सार्वजनिक सवारी साधनको कमीले सर्वसाधारणलाई पर्न सक्ने सास्तीलाई ध्यानमा राखी नेपाल प्रहरीले हिजो र आज उपत्यकाका मुख्य तीन वटा रुटहरूमा निःशुल्क बस चलाएको हो।
प्रहरीका अनुसार पहिलो रुटअन्तर्गत नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्सालसम्म बस सञ्चालन हुनेछ। त्यस्तै दोस्रो रुट नक्सालबाट सुरु भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै पुनः नक्साल आइपुग्नेछ।
त्यसैगरी तेस्रो रुटअन्तर्गत नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी र महाराजगंज हुँदै बस पुनः नक्साल फर्कनेछ। यी निर्धारण गरिएका रुटहरूमा पहिलो सिफ्ट बिहान ८:०० बजे र दोस्रो सिफ्ट दिउँसो ३:३० बजेदेखि बस सेवा सञ्चालन हुने प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment