धादिङमा भोकै परेका अलपत्र मजदुरलाई नीलकण्ठ नगरपालिकाद्वारा मासु र खाद्यान्न सहयोग

डिसी नेपाल
४ कार्तिक २०८३ १०:५७
4
Shares

धादिङ। दशैँको मुखमा काम गरेको ज्याला नपाएर घर फर्किन नसकी कार्यस्थलमै अलपत्र परेका १२ जना निर्माण मजदुरलाई धादिङको नीलकण्ठ नगरपालिकाले मासुसहितको खाद्यान्न सामाग्री उपलब्ध गराएको छ।

महान् चाडका बेला खाद्यान्न सङ्कट झेलिरहेका ती मजदुरहरूलाई नगरपालिकाले चामल, दाल, तरकारी र मासुसहितको राहत सामग्री हस्तान्तरण गरेको हो।

नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपल खोलाको पक्की पुल निर्माणमा खटिएका ती मजदुरहरूले विगत ५–६ महिनादेखि श्रम गरेबापतको ज्याला पाएका थिएनन्। हातमा सुको नहुँदा घर फर्कने गाडीभाडा समेत जुटाउन नसकेपछि उनीहरू कार्यस्थलमै रोकिन बाध्य भएका हुन्।

शुरुमा ३६ जनाको टोली रहेकोमा २४ जनाले साथीभाइसँग ऋण काढेर तथा घरबाट पैसा मगाएर दशैँ मनाउन घर फर्किएका थिए। तर, चरम आर्थिक अभावका कारण सल्यानका सात, बाँकेका दुई, सुर्खेतका दुई र गोरखाका एक गरी १२ जना मजदुर धादिङमै अलपत्र परेका थिए।

नगरपालिकाले दशैँकै अवसर पारेर खाद्यान्न सामाग्री दिएपछि मजदुरहरूले ठूलो राहत महसुस गरेका छन्। आफ्नै नगरभित्र श्रम गरिरहेका मजदुरहरू चाडबाडका बेला भोकै बस्नुपर्ने अवस्था आएको थाहा पाएपछि खाद्यान्न सहयोग गरिएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले बताएका छन्।

“परिवारसँग बसेर दशैँ मनाउन नपाए पनि मजदुरहरूले काम गरेकै ठाउँमा मीठो-मसिनो खाएर चाडबाड मनाउन सकून् भनेर खाद्यान्न सामाग्री वितरण गरेका हौँ,” नगर प्रमुख ढुंगानाले भने।

नगरपालिकाको सहयोगले दशैँका बेला छाक टार्ने चिन्ता हटे पनि मजदुरहरूले ६ महिनादेखि रोकिएको आफ्नो ज्याला भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेका छन्। सल्यानका अम्मर कार्कीले भने, “हाम्रो ज्याला दिलाइदिएर हामीलाई घर पठाइदिनुहोस्।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *