बडादशैंको मुख्य दिन विजयादशमी : मान्यजनको हातबाट टीका र जमरा लगाइँदै, उत्तम साइत बिहान १० :२६ बजे

डिसी नेपाल
४ कार्तिक २०८३ ६:३०
4
Shares

काठमाडौं।  बडाददशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज विजयादशमी, घर-घरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा लगाइँदै छ।

दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म विधिपूर्वक पूजा-आराधना गरिएको दुर्गा भवानीको प्रसाद आज मान्यजनबाट ग्रहण गर्ने परम्परा छ। टीका-प्रसाद ग्रहण गर्न साइत खोज्नेहरूका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०:२६ बजेको साइत उत्तम रहेको जनाएको छ।

विजयादशमी आफैँमा सिद्ध र शुभ दिन भएकाले आज टीका लगाउन सर्वसाधारणले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्। “राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्छ। राज्य सञ्चालकले साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत निर्धारण गरिएको हो। साइतमै टीका लगाउँदा देवीको विशेष शक्ति प्राप्त हुन्छ,” उनले भने।

घटस्थापनाका दिन स्थापना गरिएको कलशको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिन मनाइने यो पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइँदै छ। आजै टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका-प्रसाद ग्रहण गर्न सक्नेछन्।

समितिका अनुसार घटस्थापनाका दिन जमरा राखिएको स्थानमा आह्वान गरिएका देवी विसर्जन गर्ने उत्तम साइत आज बिहान ०८:४९ बजे रहेको छ।

टीका लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने

विजयादशमीका दिन आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले बताएका छन्। यसो गर्दा चन्द्रमा टीका लगाइमाग्नेको सम्मुख (अगाडि) पर्ने उनले सुनाए।

टीका लगाइदिने व्यक्ति भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ फल प्राप्त हुने भएकाले यसो गर्नुपर्ने उनको भनाइ छ। टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कनुपर्ने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहने राशिका आधारमा निर्धारण हुने गर्दछ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिन वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानी शिरमा पहिरिने गरिन्छ।

जमराले विभिन्न रोगव्याधमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ। घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गर्दा वर्षभरि शान्ति मिल्ने धार्मिक विश्वासका कारण आज टीका लगाउनुअघि अभिषेक गर्ने परम्परा छ।

असत्यमाथि सत्यको विजयको प्रतीक

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्त्वपूर्ण दिन हो। त्रेता युगमा आजैका दिन भगवान् श्रीरामले असत्यका प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले सोही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। त्यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा लिइन्छ।

आज गुरु, पुरोहित, हजुरबा, हजुरआमा, बुबा, आमा तथा मान्यजन र ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा र प्रसाद थापी यश, ऐश्वर्य, कार्यक्षमता वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ।

विजयादशमीमा पुरुषहरूलाई टीका लगाइदिँदा निम्न मन्त्रबाट आशीर्वाद दिने शास्त्रीय विधान छ:

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।

शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण।।

अर्थात्, द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो दीर्घायु, अयोध्याका राजा दशरथको जस्तो श्री (सम्पत्ति), दशरथपुत्र रामको जस्तो शत्रुनाश, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, भीष्मको जस्तो शूरता, बलरामको जस्तो बल, कुन्तीपुत्र कर्णको जस्तो दानशीलता, विदुरको जस्तो ज्ञान-विज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी आशीर्वाद दिइन्छ।

महिलाहरूलाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न मन्त्रले आशीर्वाद दिइन्छ:

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।

अर्थात्, जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा नाम गरेका देवीलाई म नमस्कार गर्दछु।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न जाने मानिसहरूको बाटोमा घुइँचो हुने गर्छ। नेपालका केही भागमा भने विजयादशमीका दिन मात्र दुर्गा भवानीको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने चलन छ। त्यस्तै, केही जाति विशेषले भने आफ्नै कुल परम्पराअनुसार दही र अक्षताको सेतो टीका पनि लगाउने गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *