कमल थापाले सिध्याएको राप्रपालाई राजेन्द्र लिङ्देनले एक वर्षमै दिए पुनर्जीवन

डिसी नेपाल
१९ मंसिर २०७९ ११:४८

काठमाडौं। दोस्रो संविधानसभामा निर्णायक राजनीतिक शक्ति बनेको राप्रपा २०७४ सालको आमनिर्वाचनमा एक सांसदमा खुम्चिएको थियो। राप्रपाप्रति जनताको मात्र होइन कार्यकर्ताको समेत आकर्षण र भरोसा क्षयीकरण हुँदै गयो।

तत्कालीन अध्यक्ष कमल थापाको सत्ता र शक्ति मोहमा पार्टी नीति र उद्देश्य तथा जनताको भरोसा पिसिँदै जाँदा २०७४ सालको निर्वाचनमा राप्रपा राष्ट्रिय दलको मान्यता पाउन सकेन र एक मात्र सांसदमा खुम्चियो।

तर, अघिल्लो वर्ष १९ मंसिरमा भएको महाअधिवेशनले राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनलाई चु्न्यो र कमल थापालाई अस्वीकृत गर्‍यो। अध्यक्षमा पराजित भएपछि ‘पूर्वराजाको षड्यन्त्र’ भन्दै थापाले कार्यकर्ताको मतप्रति अपमान मात्र गरेनन् पार्टी नै परित्याग गरे। पार्टी विभाजन नगर्ने धार्मिक ग्रन्थ ‘गीता’ छोएर कसम खाएका थापा राप्रपा नेपालमा प्रवेश गरेर अध्यक्षको भूमिमा रहे।

उनको लोकप्रियता र जनताको भरोसा गत ४ मंसिरमा सम्पन्न निर्वाचनले देखाएको छ। आफू अध्यक्ष रहेको राप्रपा नेपालको हलो चुनाव चिह्न छाडेर एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर १ मा चुनावी मैदानमा उत्रिँदासमेत थापा पराजित भए।

आफ्नै पूर्वकार्यकर्ता राप्रपाका दीपकबहादुर सिंह २७ हजार ८१६ मतसहित विजयी हुँदा थापाले २५ हजार ४२० मतसहित तेस्रो स्थानमा रहेर पराजय व्यहोरे।

सिंहको निकटतम प्रतिस्पर्धी कांग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिनाले २५ हजार ४३४ मत ल्याएकी थिइन्। थापाले नेतृत्वको गरेको राप्रपा नेपालले आमनिर्वाचन २०७९मा एक सिट पनि जित्न सकेन।

तर, अघिल्लो वर्ष नेतृत्व परिवर्तन गरेको राप्रपाले यसपटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सात सिट जितेको छ भने समानुपातिकमा पनि सात सिट पाउने भएको छ।

राजेन्द्र लिङ्देनप्रतिको आशा र भरोसा र नेतृत्व परिवर्तनले राप्रपाप्रति जनताको विश्वास बढेको राप्रपा तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ बताउँछन्।

राप्रपा महाधिवेशनले आवश्यकताअनुसार नेतृत्व परिवर्तन गर्नुपर्ने र राजनीतिमा युवा आउन सक्ने वातावरण रहेको सन्देश दिएको उनले बताए।

राप्रपा महाधिवेशनले युवा समूहमा राजनीतिप्रति आशा जगाएको मात्र होइन संलग्नताको वातावरण नै रहेको सन्देश दिएकाले नै अहिले नेपाली राजनीतिमा युवा प्रत्यक्ष भूमिका रहने गरी निर्वाचित भएका उनको भनाइ छ।

आफू अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनले अग्रज नेतालाई सम्मान गर्दै युवाप्रति विश्वास राख्दै जनतामाझ ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हुने’ बताउँदै आए।

संसदमा पनि भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाएका लिङ्देन अध्यक्ष रहेको राप्रपा अहिले राजनीतिमा निर्णायक शक्तिको रुपमा देखापरेको छ।

नेतृत्व सम्हालेको एक वर्षमै लिङ्देनले जनतामाझ गुमेको विश्वासलाई फिर्ता ल्याउन सके। पार्टीलाई सक्रिय र क्रियाशील बनाएका उनी यसबीचमा जनतामाझ आफैं उपस्थित भएर पार्टीको नीति तथा आगामी कार्यक्रमबारे प्रष्ट पारे।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका कृष्णप्रसाद सिर्टाैलालाई झापा ३ मा दोस्रोपटक हराएका लिङ्देनले ४० हजार ६६२ मतसहित विजयी भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *