माटोमुनिबाट रोएको आवाज सुनेपछि ६ वर्षीया बालिकाको उद्धार
काठमाडौं। रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा शुक्रबार माटोमुनि पुरिएकी एक ६ वर्षीया बालिकाको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपालको टोलीले अहिले साँझ सवा ६ बजेतिर ती बालिकालाई उद्धार गरेको हो।
टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको जनाएको छ।
त्यसक्रममा माटोमुनि पुरिएको अवस्थामा ती बालिका फेला परेकी थिइन्। उद्धारका क्रममा बालिका गम्भीर तथा अचेत अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसपछि उनलाई सीमा सुरक्षा चौकी टिमुरेमा ल्याइएको छ। चौकीमा ल्याएपछि ती बालिकालाई न्यानो बनाएर राखिएको छ।
उनको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको सशस्त्र प्रहरी स्रोतले बतायो। तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन कठिनाइ भइरहेको बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment