त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री गुरुङ आफैँ फिल्डमा

डिसी नेपाल
१२ भदौ २०८३ २२:२९

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैँ फिल्डमा खटिएका छन्।

बाढीका कारण आयोजनाको सुरुङ प्रवेशद्वारमा माटो तथा ढुंगामाटो थुप्रिएपछि सुरुङभित्र रहेका कर्मचारी तथा अन्य व्यक्तिहरू बाहिर निस्कन नसकेको खबरपछि उद्धार कार्य तीव्र पारिएको हो। सुरुङमा हाइड्रो इन्जिनियरसहित ३५ जना फसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

उद्धारका क्रममा सुरुङको अवरोध हटाउन मिनी स्काभेटर आवश्यक परेको सूचना सार्वजनिक गरिएपछि आवश्यक उपकरणसहित उद्धार टोली परिचालन गरिएको छ।

गृहमन्त्री गुरुङको नेतृत्वमा नेपाली सेना तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत घटनास्थलमा खटिएर सुरुङको बाटो खुलाउने र फसेकाहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।

सुरुङभित्र फसेकाहरूको अवस्था थप जोखिमपूर्ण बन्न नदिन उद्धार टोलीले रातको समयमा समेत कामलाई निरन्तरता दिएको छ। सुरुङभित्र अक्सिजनको मात्रा घट्न सक्ने जोखिम रहेकाले उद्धारलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताइएको छ।

यसअघि पनि बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा मानिसहरू फसेका थिए। नेपाली सेनाले माथिल्लो त्रिशूली क्षेत्रको अर्को सुरुङबाट सयौं मानिसको उद्धार गरिसकेको जनाएको छ भने अझै केही व्यक्ति फसेको हुनसक्ने भन्दै खोज तथा उद्धार जारी राखिएको छ।

फसेकाहरूलाई सकुशल उद्धार गर्ने लक्ष्यसहित सुरक्षाकर्मी र प्राविधिक टोलीले जोखिमका बाबजुद उद्धार अभियानलाई तीव्रता दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *