विराटनगर महानगरपालिकाले गर्‍यो ५० प्रतिशत अनुदानमा मकैको बीउ र जिङ्क वितरण

डिसी नेपाल
२५ मंसिर २०७९ २१:११

विराटनगर । विराटनगर महानगरपालिकाले अनुदानमा कृषकलाई मकैको बीउ र जिङ्क (पोषण) वितरण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आज एक कार्यक्रमको आयोजना गरेर उन्नत जातको मकैको बीउ र जिङ्क वितरण गरेको हो । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराइएको हो ।

महानगरका प्रमुख नागेश कोइराला, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलले कृषक समूहलाई बीउ र जिङ्क वितरण गरेका हुन्। महानगरका प्रमुख कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको बताउँदै रासायनिक मलका कारण उत्पादत्वमा ह्रास आएको चर्चा गरे। उनले प्राङ्गारिक र जैविक मलको प्रयोग बढाएर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । “महानगरपालिकाभित्र जति जमिन छ, त्यसमा उत्पादकत्व वृद्धि गर्नु आवश्यक छ”, उनले भने, “त्यसका लागि महानगरले कृषकलाई गर्ने सहयोग गर्छ ।”

महानगरले २६ वटा कृषक समूह र सहकारी कृषि फर्मका तीन सय ३९ घरधुरीका एक हजार एक सय ७६ जनालाई मकैको बीउ आठ हजार तीन सय ३३ केजी र जिङ्क वितरण गरेको छ । सो बीउबाट ५४ दशमलव ६२ हेक्टर र जिङ्कले ५२ दशमलव ३२ हेक्टर क्षेत्रफलमा खेती गर्न सकिने कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए । तेलहन बाली पकेट कार्यक्रमअन्तर्गत तोरी बालीका लागि विराटनगर–१९ मा साना किसान कृषि सहकारी संस्था र मकै पकेट कार्यक्रम विराटनगर–१८ मा समावेशी कृषक समूहमार्फत सञ्चालनमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *