सुन्तला उत्पादनमा निरन्तर ओरालो, विषादि र उपकरण वितरण

डिसी नेपाल
३ पुष २०७९ २३:०८

खोटाङ । सुन्तलामा देखापरेको रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र खोटाङले रावाबेँसी गाउँपालिकाका किसानलाई विषादी तथा उपकरण वितरण गरेको छ । सुन्तलामा देखापरेको औंसा, सिट्रस ग्रिनिङ, जरा कुहिने, झ्याउ पलाउनेलगायतका रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रले रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका किसानलाई विषादी तथा उपकरण प्रदान गरेको हो ।

विभिन्न प्रकारका रोगका कारण हरेक वर्ष सुन्तला उत्पादनमा ह्रास आइरहेका बेला ज्ञान केन्द्रले कुभिन्डेका २३ किसानलाई डोरसालिस, कुकुरबुटी र टाउ प्रजातीको औंसा मार्ने मोहनी पासो, सिट्रस ग्रिनिङको कारक मानिने सिट्रसशिल्ला किरा फैलिन नदिन किटनाशक विषादि, झ्याउ तथा जरा कुहिनबाट जोगाउने कोनिका नामक विषादी वितरण गरेको हो । यस्तै, सुन्तलाको बोट वरपर गोडमेल गरेर माटोको उपचारका लागि मालाथिन वितरण गरिएको कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत रामनन्द यादवले बताए ।

किसानलाई सुन्तलाको बोट काँटछाँटका लागि सिकेचर पनि वितरण गरिएको छ । कतिपय किसानको बगानमा रोग लागेर झरेका सुन्तलालाई एक ठाउँमा जम्मा गरेर नष्ट गरिएको छ । किसानलाई कुभिन्डेका वडाध्यक्ष गेहेन्द्रमान राई, वाली संरक्षण अधिकृत यादव लगायतले विषादि तथा उपकरण हस्तान्तरण गरेका हुन् । चालु आर्थिक वर्ष रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका सुन्तला कृषकलाई किटनाशक पनि विषादिका साथमा उपकरण प्रदान गर्ने तयारी गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । वर्ष दिनअघि पिसिआर परीक्षण गर्दा लामीडाँडाका सुन्तलामा सिट्रस ग्रिनिङको संक्रमण पूष्टि भएको थियो ।

कुनैबेला हवाइजहाजबाट सुन्तला निर्यात हुने लामीडाँडामा हाल सुन्तला चाख्नैपाइन छाडेको छ । उसो त रोगको प्रकोपका कारण समग्र जिल्लामै हरेक वर्ष सुन्तला उत्पादन दर घटिरहेको छ । विशेषगरी औंसाको प्रकोपका कारण जिल्लामा सुन्तला उत्पादनमा र्‍हास आएको वाली संरक्षण अधिकृत यादवले बताए । औंसा किरा नियन्त्रणकै लागि ज्ञान केन्द्रले गत वर्ष दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छोरम्बुमा किटनाशक विषादि तथा उपकरण वितरण गरेको थियो । गत वर्ष औंसा किरा नियन्त्रणका उपाय सम्बन्धी ब्रुसर तयार पारेर किसानलाई बाँडिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *