उदयपुरमा बोलेरो दुर्घटना एकको मृत्यु, एकै परिवारका चारसहित छ घाइते

डिसी नेपाल
४ पुष २०७९ २२:५५

कटारी । उदयपुरको कटारी नगरपालिका–१० पालसिंहमा आज भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छ घाइते भएका छन् । ट्राफिक प्रहरी पोष्ट कटारीका इन्चार्ज सहायक प्रहरी निरीक्षक दीपक कोइरालाका अनुसार मृत्यु हुनेमा उदयपुरको ताप्ली गाउँपालिका–१ वस्ने ६५ वर्षीय मीनबहादुर सार्की रहेका छन् । गम्भीर घाइते सार्कीको उपचारका लागि कटारी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

ताप्ली गाउँपालिकाको रुपाटारबाट कटारीतर्फ आउँदै गरेको प्र २–०१–००१ च ००५० नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा सर्लाही लालबन्दीका ३० वर्षीय फणिन्द्र श्रेष्ठ घाइते भएका छन् । त्यसैगरी श्रेष्ठ परिवारकै भावना श्रेष्ठ, भवानी श्रेष्ठ र दुई वर्षीय भूमिका श्रेष्ठ घाइते भएका छन् । फणिन्द्रसहित श्रेष्ठ परिवारका चार घाइते भएका हुन् । श्रेष्ठ परिवार ताप्ली गाउँपालिका–२ रामपुर झिल्के ससुरालीबाट फर्किंदै गर्दा दुर्घटनामा परेका थिए । त्यसैगरी ताप्ली–५ की २३ वर्षीय सुमित्रा गिरी र वडा नम्बर ४ का झपडबहादुर विश्वकर्मा घाइते भएका छन् ।

घाइतेको कटारी अस्पतालमा उपचार गरिएको अस्पतालका सूचना अधिकारी नवीनकुमार बस्नेतले बताए । घाइतेमध्ये फणिन्द्र, भूमिका र झपडबहादुरलाई भने थप उपचारका लागि अन्यत्र रेफर गरी पठाएको पनि अधिकारी बस्नेतले बताए । बोलेरो चालक ताप्ली–५ खानीडाँडाका ३२ वर्षीय ईश्वर नारायण श्रेष्ठलाई प्रहरी चौकी वेतेनीले नियन्त्रणमा लिएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय कटारीबाट २४ किलोमिटर उत्तरपूर्वमा पर्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *