खोटाङका अग्नीपीडितलाई राहत प्रदान गर्ने प्रदेश सरकारको निर्णय

डिसी नेपाल
६ पुष २०७९ ७:११

खोटाङ। प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्नीपीडितलाई राहत उपलव्ध गराउने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलव्ध गराउने र कानुन बमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो।

अग्नीपीडितलाई राहत तत्काल उपलव्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा नगद सहयोग गर्ने निर्णय भएको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले बताए। बाक्सिला बजारमा भएको आगलागीमा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको छ।

आगलागीमा डिल्लीकुमार श्रेष्ठको घर, भाँडा तथा कपडा पसल र नगद ५० हजार जल्दा एक करोड ४१ लाख ७७ हजार बराबरको क्षति भएको छ। सोही घरमा रहेको उनकै छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजार जल्दा २० लाख ४० हजार बराबरको क्षति भएको छ।

शुभराज राईको घर, सोही घरमा भाडामा बसिरहेका समिर राई (गाउँपालिका अध्यक्ष)को पुस्तक, कपडा तथा किराना पसल र नगद दुई लाख जल्दा एक करोड २५ लाख, सोही घरमा भाडामा पसल गरिरहेका ईद्रा राईको होटल र पसल जल्दा सात लाख ५० हजार बराबरको क्षति भएको छ।

दिपक गुरुङको घर, नगद एक लाख र किराना सामानको गोदाम नष्ट हुँदा ५४ लाख ८५ हजार, गुरुङकै घर भाडामा लिएर कपडा व्यवसाय गरिरहेका रत्ना गुरुङको नगद ७५ हजार र सामान जल्दा १३ लाख ७२ हजारको क्षति भएको प्रहरीले जनाएको छ।

रमेश परियारको घर, नगद एक लाख, टेलर पसल समेत जल्दा ७१ लाख नौ हजार क्षति भएको छ । अकबर राईको घर, टिभी, फर्निचरका सामान जल्दा ६३ लाख र उनकै घरमा रहेको कांग्रेसको समन्वय कार्यालयको कुर्सी, दराज लगायतका समान जल्दा दुई लाख बराबरको क्षती भएको डिएसपी मञ्जिल मुकारुङले बताए ।

बाक्सिला बजारमा गुरुङको घरबाट सुरु भएको आगोले अन्य घर पनि जलाएको हो । बजारका अन्य घरमा आगो फैलिन नदिन अकबरको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *