वन व्यवस्थापनमा मुख्य चुनौती डढेलो

डिसी नेपाल
८ पुष २०७९ ७:५२

टङ्कीसिनवारी। मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ। यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर क्षेत्र वन रहेको छ। तर वन व्यवस्थापनका लागि भने डढेलो मुख्य चुनौतीको रूपमा रहेको छ।

मोरङमा वन क्षेत्र सुदृढ हुँदा जैविक विविधतामा सुधार आएको भए पनि डढेलोले वन व्यवस्थापनमा बाधा पुर्‍याउने गरेको छ। डढेलोलाई वन विनासको मुख्य कारण मानिन्छ।

दाउरा निकाल्न सजिलो हुने भनेर वनमा आगो लगाउने गरेको पाइएको छ। विराटनगर–३ स्थित डिभिजन वन कार्यालयका अनुसार मोरङमा बर्सेनि औसत एक सय ५० देखि चार सय हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ।

वन व्यवस्थापन दिगो, छरितो र उत्कृष्ट भए पनि वन क्षेत्रमा लाग्ने डढेलोले बेलाबेलामा चिन्ता बढाउने गरेको छ। डढेलोले सङ्कटापन्न जीवजन्तुदेखि बहुमूल्य रूख बिरुवामा क्षति पुर्‍याउने गरेको सहायक वन अधिकृत एवं सूचना अधिकारी रामलखन ठाकुर बताउँछन्।

“कार्यालयले वनमा लाग्ने डढेलो नियन्त्रणका लागि सचेतना कार्यक्रमदेखि सञ्जाल गठनसम्मको काम गर्दै आएको छ”, उनले भने। उनले स्थानीय वन उपभोक्ता समूहका प्रतिनिधि, सुरक्षा निकाय, वन सुरक्षा निकाय र डिभिजन वन कार्यालयको कर्मचारी सम्मिलित वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको बताए। सञ्जालले वन क्षेत्रमा लागेको डढेलो निभाउनेदेखि आगलागीबारे जनचेतना फैलाउनेसम्मको कार्य गर्दैआएको ठाकुरले बताए।

कार्यालयले डढेलो नियन्त्रणका लागि वन क्षेत्रमा पतझर सोहरेर अग्नि रेखाको सरसफाइ, वन क्षेत्रमा नियन्त्रित आगो लगाउने कार्य गर्दै आएको छ। साथै वनमा आगलागी भइहाल्यो भने तत्कालै निभाउनका लागि वन क्षेत्र नजिक तीन वटा पानी ढुवानीका लागि ट्याङ्कर तयारी अवस्थामा राखिएको छ।

डिभिजन वन कार्यालयका वन अधिकृत अनिरुद्धकुमार साहले सीमित स्रोतसाधनका बाबजुत मोरङमा डढेलो नियन्त्रणको सवालमा उल्लेखनीय प्रगति भएको दाबी गरे। उनले मोरङको वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि आवश्यक प्राविधिक र जनशक्तिलाई तालिम र उपकरणसहित चौबिसै घण्टा परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको बताए।

चिसोले बढायो वायु प्रदूषणको जोखिम

पुसको चिसो बढेसँगै विराटनगर नगर क्षेत्रभित्र वायु प्रदूषणको जोखिम बढेको छ। चिसो बढेपछि नगर क्षेत्रका अधिकांश खुल्ला ठाउँमा आगो बालेर ताप्ने क्रम बढेको छ। आगो बाल्न काठ दाउराबाहेक गोबरको गुइँठा, कागज, प्लाष्टिक, रुवाको प्रयोग गर्ने पाइएको छ।

काठ दाउरादेखि प्लाष्टिकसम्मको प्रयोग गरी आगो बाल्दा निस्कने धुँवाले नगर क्षेत्रको वायु प्रदूषण ह्वात्तै बढेको छ। विराटनगर महानगरपालिकाअन्तर्गतको वातावरण शाखाकी इन्जिनियर सुदिक्षा कार्कीले सर्वसाधारणले आगो बाल्न दाउराको मात्र प्रयोग नगरेर कागज, प्लाष्टिकजस्ता पदार्थको प्रयोग गर्दा त्यसबाट निस्किने धुँवाले वातावरणमा प्रदूषण फैलिएको बताए।

उनले बढ्दो जनघनत्वका कारण नगर क्षेत्रमा सवारी साधनको चाप उल्लेख्यरूपमा बढेको उल्लेख गर्दै वातावरणलाई स्वच्छ राख्न विद्युतीय सवारी साधन प्रयोगमा जोड दिनुपर्ने बताए।

कार्कीले विराटनगरको वायु प्रदूषण बढ्न नदिनका लागि वृक्षरोपणका कार्यक्रमदेखि सचेतना फैलाउनेसम्मको काम निरन्तर गरिँदै आएको बताए।

“आगो बालेर ताप्नुभन्दा न्यानो कपडा लगाउनेतर्फ ध्यान दिनुपर्छ”, उनले भने। चिसोमा प्रदूषणबाट बच्न अनावश्यक घरबाट बाहिर ननिस्कन, धुलो धुँवा उड्ने खालको निर्माण व्यवसाय सञ्चालन नगर्न, खुल्लामा आगो नताप्न, फोहर वस्तु नजलाउनेसमेत कार्कीले सुझाव दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *