गाईघाट-दिक्तेल सडकखण्डको फोक्सिङटार पुल सञ्चालनमा

डिसी नेपाल
८ पुष २०७९ ११:२२

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेल जोड्ने गाईघाट दिक्तेल सडकखण्डको सुनकोसी नदीमा निर्माण गरिएको पक्कि पुलमा बिहीबारदेखि यातायातका साधन सञ्चालन भएका छन् ।

गाईघाट दिक्तेल सडक खण्डको उदयपुरस्थित रौमाई गाउँपालिका–५ को फोक्सिङटार र खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–९ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीको पक्की पुलमा बिहीबारदेखि उदयपुरको गाईघाटदेखि सिधैै खोटाङ दिक्तेल र दिक्तेलदेखि सिधैै गाईघाट सम्मका यातायातका सधनहरु सञ्चालन हुन थालेको खोटाङ खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले बताए ।

अझै सुनकोसीको पुल निर्माण सम्पन्न गर्न केही काम बाँकी रहेको भए पनि यातायात व्यवसायीको दबाब र जनताको मागअनुसार पुल निर्माणको अन्तिम केही कार्य बाँकी रहेको भए पनि बिहीबारदेखि यातायातका साधन सुचारु गरिने अनुमति प्रदान गरेको उक्त पुल हेर्ने पुल सेक्टर नम्बर १ धरानका प्रमुख प्रदीप भण्डारीले बताए ।

दश वर्षअघिनै सुनकोसीमा पक्की पुल निर्माण कार्य सुरु भएको थियो । माघसम्ममा पुल निर्माण सम्पन्न भइसक्ने छ । पार्वता गौरा जेभि कन्ट्रक्सन निर्माण कम्पनीले २०६९ चैतदेखि सुनकोसीमा पुल निर्माण सुरु गरेको हो । विसं २०७५ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो । निर्माण कम्पनीले काममा ढिलाइ गर्दा उदयपुर, खोटाङ, तराई, मधेस आवतजावतामा कठिनाइ भोग्नु परिरहेको थियो ।

पुल निर्माणका लागि रु १९ करोड ६० लाख खर्च भएको पुल निर्माण कम्पनीका कर्मचारी सुजन पाण्डेले बताए । एक सय ४२ मिटर लम्बाइ र छ दशमलव पाँच मिटर चौडाइको पुल निर्माण गरिएको छ । सुनकोसीमा पक्की पुल नहुँदा २०६९ सालदेखि गाईघाट दिक्तेल सडकखण्डको सुनकोसीमा छ महिना बेलिबृज जडान गरेर छ महिनासम्म यातायातका साधन चल्ने गरेका थिए । जेठमा सुनकोसीमा पानीको बहाव बढेपछि छ महिनासम्म वर्षा याममा बेलिबृज खोलिने गरिएको थियो ।

गाईघाट दिक्तेल सडकखण्डमा छ महिना हिउँदमा यातायात सुचारु हुने र वर्षामा छ महिना यातायात सञ्चालन कार्य बन्द हुने गरेको थियो । यस पटक सुनकोसीमा पक्की पुल निर्माण भएपछि बेलिबृज पनि हटाइको छ भने अब हिउँद वर्षा दुवै याममा उदयपुरको सदरमुकाम गाईघाटदेखि खोटाङको दिक्तेलसम्म र दिक्तेलदेखि गाईघाटसम्म सिधै यातायातका साधन चल्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *