अमेरिकाको टेक्सासमा लुटियो नेपाली दूतावासको पैसा, लापरवाही कसकाे?

डिसी नेपाल
९ पुष २०७९ ६:४१

वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकाको टेक्सासमा अमेरिकास्थित नेपाली दूतावासको २ लाख डलर लगभग रकम आर्थत २ करोड ६५ लाख नेपाली बराबरको रकम लुटिएको छ। लुटपाटका परेको रकमबारे दूतावासले टेक्सासको प्रहरी र डिप्लोमेटिक सेक्युरिटी डिभिजन ह्युस्टनलाई जानकारी दिएको दूतावासले जनाएको छ।

समाचारअनुसार, सो रकम टेक्सास राज्यका ह्युस्टन, अस्टिन र डालास शहरमा कन्सुलर सेवा प्रदान गर्दा नेपालीबाटै उठेको नेपाल सरकारको राजश्वको रकम हो। दूतावासले डिसेम्बर १५ देखि २० तारिकसम्म टेक्सासका विभिन्न शहरहरुमा अमेरिकावासी नेपालीहरु (विद्यार्थीहरु समेत) लाई कन्सुलर सेवा दिएको थियो।

दूतावासले पासपोर्ट नवीकरणलगायतका कन्सुलर सेवा दिएवापत सरकारी राजश्वको रकम मनी अर्डर र क्यासियर चेकमार्फत बुझेको थियो। सो रकम डिसेम्बर २३ का दिन मध्य दिउँसो १२ बजेर ३ मिनेट जाँदा पार्किङमा राखिएको गाडीबाट लुटिएको दूतावासले जनाएको छ।

दूतावासका कर्मचारीहरु उत्तम घिमिरे, राधेश्याम दुबे र ह्युस्टनका अर्का एक लोकल स्टाप सो गाडीमा चढेका थिए। उनीहरु टेक्सासको कन्सुलर सेवासम्बन्धी काम सकेर वासिंगटन डिसीका लागि विमानास्थल हिड्नुअघि खाना खान भनेर एउटा रेष्टुराँमा पसेका थिए। त्यहीबेला पार्किङ्गमा राखिएको गाडी फोडेर सबै मनी अर्डर र क्यासियर चेक लुटिएको थियो।

दूतावासले भने ह्युस्टनबाट वासिंगटन डिसी जाने क्रममा पार्किङ्गमा राखिएको दूतावासले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको र रकम लुटिएकोमात्र जानकारी दिएको छ। तर, दूतावासले कहांको पार्किङ्गमा दूतावासले प्रयोग गरेको गाडी राखिएको थियो भन्ने चाहिँ विज्ञप्तिमा उल्लेख गरेको छैन ।

(हेर्नुहोस् विज्ञप्ति पनि)।

यसैगरी दूतावासले प्रयोग गरेको तर पार्किङ्गमा राखिएको गाडीमा कोही थियो कि थिएन? नभए किन त्यति धेरै रकमसहितको झोला गाडीमा राखियो? भन्ने प्रश्न पनि उठेको छ।

राज्यको राजश्वलाई गाडीमा त्यत्तिकै छाड्नुभन्दा आफूसँगै राखेको हुनुपर्नेमा हेलचेक्र्याइ गरिएको हो कि भन्ने आशंका पनि उठेको छ। समाचारअनुसार, स्थानीय व्यक्ति ज्ञानेश्वर श्रेष्ठको गाडी दूतावासका कर्मचारीहरुले प्रयोग गरेका थिए।

सहयोगको अपिल

यसैबीच दूतवासले प्रकाशित गरेको विज्ञप्तिमा कन्सुलर सेवा लिने सेवाग्राही समक्ष लुटिएको रकम फिर्ता ल्याउन सहयोगको अपेक्षा गरिएको छ। आआफूले तिरेको रकमको मनी अर्डर वा क्यासियर चेक सकेसम्म रद्ध गर्न आग्रह गरिएको छ।

र, रद्द भएमा अर्को मनी अर्डर वा क्यासियर चेक बनाई पुन दूतवासमा पठाउन आग्रह गरिएको छ। रद्द गर्न सम्भव नभए मनी अर्डर वा क्यासियर चेकको विवरण दूतवासको इमेलमा पठाइदिन अनुरोध पनि गरिएको छ।

बुझाइसकेको मनी अर्डर वा क्यासियर चेकबाट यदि कसैले रकम लिइसकेको भए आफ्नो बैंकबाट सो रकम लिनेको विवरण लिएर तत्काल दूतावासलाई जानकारी दिन पनि भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *