जथाभावी चल्ने स्कुल बसले बढ्यो दुर्घटना जोखिम
ढोरपाटन। साँघुरो बागलुङ बजार। त्यसमाथि अव्यवस्थित रुपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन्। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ बजार त जोडिएको छ तर मुख्य सडकभन्दा बाहिर यो सडक पर्छ।
बिहान ८ देखि १० र साँझ ४ देखि ६ बजेसम्म बागलुङ बजारका मुख्य तथा सहायक सडकमा यात्रा गर्न निकै कठिन हुने गर्छ। त्यसको कारण हो जथाभावी रुपमा स्कूल बस चल्नु। बागलुङका सरकारी तथा निजी विद्यालयले लामो समयदेखि मापदण्डविपरीत स्कुल बस सञ्चालन गर्दै आएका छन्। मापदण्डविपरीत सिट क्षमताभन्दा बढी चढाउँदा बालबालिकाले सास्तीसमेत भोगेका छन्।
‘स्कुल बस निर्देशिका २०७४’ ल्याएको पाँच वर्ष बितिसक्दा पनि बागलुङमा कार्यान्वयन हुनसकेको छैन। विद्यालयले निर्देशिकाका सामान्य नियम पनि मान्दैनन्। कार्यान्वयन गराउने प्रहरी र प्रशासन मुकदर्शक छन्। जिल्लाका ५९ निजी विद्यालयमध्ये अधिकांशमा विद्यालय बस छन्। कसैले पनि निर्देशिका पालना गरेको पाइँदैन। त्यसले ट्राफिक व्यवस्थालाई भद्रगोल बनाइ दिएको छ।
स्थानीय दयाराम पौडेलले विद्यालयले बस सञ्चालन गर्दा निश्चित् ठाउँ तोक्ने र सोही स्थानबाट विद्यार्थी चढाउने तथा झार्ने गरे बजारमा दुर्घटना जोखिम कम हुने र ट्राफिक व्यवस्थापनमा सहज हुने बताए। उनले साँघुरो बजारमा दजनौँ स्कुल बस जथाभावि रुपमा चलाउँदा व्यवसायी पनि समस्यामा पर्ने गरेको बताए।
स्थानीय प्रवेश पौडेल सम्बन्धित निकायले जथाभावी रुपमा चल्ने स्कूल बसलाई व्यवस्थापन गर्न नसके ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था आउने बताउँछन्। उनले साँघुरो सडकमा पनि स्कुल बस तीव्र गतिमा चल्ने गरेकाले यसलाई स्थानीय सरकारले नियमन गर्नुपर्ने बताए।
हरेक सवारी साधनमा आपतकालीन ढोका रहनुपर्ने, ढोका लगाएर सवारी साधन चलाउनुपर्ने, प्राथमिक उपचार बक्स र अग्निनियन्त्रण उपकरण राखिनुपर्ने नियम छ। निर्देशिका अनुसार हरेक गाडीले फोहर फाल्ने बाल्टीभित्रै राख्नुपर्ने, सवारी जाँचपास प्रमाणपत्रसमेत साथैमा राखिनुपर्ने उल्लेख भए पनि यहाँ त्यस्तो पाइँदैन।
अमर आदर्श आवासीय माविका सहप्राचार्य कमल पन्तले साँघुरो सडकमा स्कुल बस चलाउन विद्यालयलाई पनि समस्या भएको बताउँछन्। बजारमा आफूहरुले संयमित भएर बस चलाउने गरेको उनी बताउँछन्।
ट्राफिक प्रहरीले एकतर्फ तथा ठूला सवारी साधन निषेध भनेको सडकमा पनि स्कुल बस चल्छन्। बागलुङ नगरपालिकाका नगर शिक्षा प्रमुख धनप्रसाद पोखरेलले स्कुल बस चालक र विद्यालयका प्रधानाध्यापकसँग विद्यार्थी बसमा चढाउने र ओराल्ने विषयमा छलफल गरेको भन्दै अब निश्चित् स्थानमा बस बिसौनी बनाउने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment