पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार पाठकलाई नागरिक अभिनन्दन

डिसी नेपाल
१७ पुष २०७९ २२:५९

कास्की । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्नुहुने तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई आज पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ ।

पोखरा महानगरपालिकाले ९१ वर्षीय पाठकलाई अमरसिंह चौरदेखि विमानस्थलसम्म रथारोहणसहित अभिनन्दन गरेको हो । विमानस्थल उद्घाटनअघि हजारौँ पोखरेलीको सहभागितामा रथारोहण गरिएको हो । पोखरामा विसं २०२९ देखि २०३४ सम्म अञ्चलाधीश रहनुभएका पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भनेर पोखरा–१४ को छिनेडाँडामा त्यसबेला तीन हजार रोपनी जमिन अधिग्रहण गरेका थिए । साथै आधुनिक पोखराको खाका तयार गरेको श्रेय पनि उनलाई जान्छ ।

जग्गा अधिग्रहणको ४७ वर्षपछि बल्ल पोखरामा अन्तर्राष्ट्रिय विमान निर्माण सम्पन्न भएको हो । सो खुशीयालीमा महानगरले पाठकलाई सम्मान गरेको महानगर प्रमुख धनराज आचार्यले बताए । उनले भने, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पाँच दशकअघि परिकल्पना गर्नुहुने तत्कालीन अञ्चलाधीश पाठकलाई उहाँको योगदानको कदरस्वरूप अभिनन्दन गरेका हौँ । अर्का परिकल्पनाकार इञ्जिनीयर पदमबहादुर खत्री देशबाहिर रहेकाले उपस्थित गराउन सकेनौँ ।”

विमानस्थलका परिकल्पनाकार पाठकलाई उद्घाटन समारोहमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कदरपत्रबाट सम्मान गरेका थिए । पोखरामा जमिन अधिग्रहण गरिएको ४७ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो । विमानस्थलको उद्घाटन समारोहमा हजारौँ पोखरेलीले सहभागिता जनाएका थिए । विमानस्थल उद्घाटनसँगै आन्तरिक उडान सोही विमानस्थलबाट सञ्चालन भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *