नेजाका अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट

डिसी नेपाल
२२ पुष २०७९ ८:५५

काठमाडौं। नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग छुट्टा-छुट्टै भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीसँगको भेटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गैरआवासीय नेपालीका मुद्दालगायतका विषयमा छलफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिए। ‘प्रधानमन्त्रीसँग भेटका क्रममा पत्रकारहरूको हकहितका लागि नेजाले उठाउँदै आएका विभिन्न विषयहरू जानकारी गराइएको छ,’ न्यौपानेले भने।

यस्तै, नेजाका अध्यक्ष न्योपानेले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेसँग अमेरिकामा रहेका नेपाली समुदायका विभिन्न आयामसँग नेजाले खेलेको भूमिका र गैरआवासीय नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न नेजाको सहभागिताबारे जानकारी गराएका थिए।

‘अमेरिकामा विभिन्न क्षेत्रमा आवद्ध पत्रकारहरूले गरेका गतिविधिबारे उपप्रधानमन्त्रीलाई अवगत गराइयो,’ न्यौपानेले भने।

बिहीबार भएको उक्त भेटवार्तामा नवगठित सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेको उनले जानकारी दिए।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष न्यौपाने सुर्खेतमा सम्पन्न पत्रकार महासंघको केन्द्रीय साधारण सभामा भाग लिन अमेरिकाबाट नेपाल आएका हुन्। उनले महासंघसँग समन्वय गरी नेजाले आगामी दिनमा गर्नसक्ने भूमिकाका सन्दर्भमा विभिन्न प्रदेशमा छलफल गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *