गण्डकीका मन्त्रीले किन पाएनन् मन्त्रालय? कहिले हुन्छ भागबण्डा?

डिसी नेपाल
२६ पुष २०७९ ११:३३
80
Shares

पोखरा । गण्डकी प्रदेशमा सोमबार नयाँ सरकार गठनसँगै ३ मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री खगराज अधिकारीसँगै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता कुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले विना विभागीय मन्त्रालयको सपथ लिए। धेरैको चासो मन्त्रीलाई किन जिम्मेवारी दिइएन भन्नेमा छ । शपथपछि पहिलो मन्त्रीपरिषद् बैठक बसेपछि मन्त्रीहरु घरतिर गए । मन्त्रालयको जिम्मेवारी नपाएका कारण उनीहरु मुख्यमन्त्री कार्यालयमै बस्नुपर्ने भएको छ।

सत्ता गठबन्धन भित्रको भागबण्डा नमिलेका कारण मन्त्रालयको विभाजन नभएको माओवादी संसदीय दलका नेता तथा मन्त्री हरिबहादुर चुमानले बताए। ‘मन्त्रालयको संख्या कति बनाउने र कुन पार्टीलाई कति मन्त्रालय भन्ने टुंगिएको छैन,’ उनले भने, ‘बण्डा नमिलेकै कारण जिम्मेवारी नदिईएको हो ।’
श्रोतका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रालयको विभाजन टुंग्याउने छन्। ‘थप मन्त्रीहरु पनि विश्वासको मत पछि नियुक्त गरिनेछ। अहिले नियुक्त भएका मन्त्रीको कार्य जिम्मेवारी पनि त्यसपछि मात्रै टुंगो लाग्छ,’ एक नेताले भने, ‘३३ सांसदको समर्थन छ। सबैलाई मिलाउनुपर्ने छ । त्यसैले केही ढिलो हुन सक्छ।’

यसैका लागि मुख्यमन्त्री खगराज अधिकारी र मन्त्री हरिबहादुर चुमान सहितको टोली काठमाडौं जाने तयारीमा छ। राप्रपाका मन्त्री पञ्चराम गुरुङ भने समय अभावका कारण कार्य जिम्मेवारी बाँडफाँट नभएको बताउँछन्। ‘हिजो ढिलो भयो। समय पुगेन। हतारमा सपथ खानुपर्‍यो,’ उनले भने, ‘केही दिनभित्रै जिम्मेवारी दिने कुरा छ।’

नव गठित सरकारको मन्त्रीपरिषद् बैठक आज पनि बस्दै छ। सरकारमा पहिलो चरणमा मुख्यमन्त्री सहित एमालेका २, माओवादीका १ र राप्रपाका १ जना मन्त्री बनेका छन्। हाल १२ मन्त्रालय रहेको गण्डकीमा संख्या घटाएर ९ मा झार्ने तयारी छ। ९ मन्त्रालय भए माओवादीले ४ वटामा दावी गरेको छ। एमालेले ५ वटा मन्त्रालय खोजेको छ । एकीकृत समाजवादीका सांसदको समेत समर्थन भएकोले दीपक मनाङेलाई सरकारमा लैजाने विषयमा छलफल चलिरहेको छ।

मन्त्रालय ९ मै हुँदा एमाले ४, माओवादी ३, राप्रपा १ र स्वतन्त्र (पछि एस प्रवेश) १ मन्त्री बन्ने सम्भावना देखिन्छ । संविधान अनुसार १ महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । संविधानको धारा १७६ (२) अनुसार अहिलेको सरकार गठन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *