नेपाल टी २० लिगः उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

डिसी नेपाल
२७ पुष २०७९ १०:५१
36
Shares

काठमाडौं। नेपाल टी २० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलबाटै उच्च लयमा देखिएको लुम्बिनीलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ। खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ बजे सुरु हुनेछ।

लुम्बिनीले समूह चरणका १० मध्ये आठ खेल जित्दै शीर्ष टोलीको रुपमा क्वालिफायरमा स्थान बनाएको थियो। क्वालिफायरमा लुम्बिनीले जनकपुर रोयल्सलाई हराएको थियो।

समूह चरणमा यी दुई टोलीबीच भएको दुई भेटमा लुम्बिनीले जित निकालेको छ। पहिलो भेटमा लुम्बिनीले विराटनगरमाथि तीन रनको रोमाञ्चक जित निकालेको थियो। दोस्रो खेलमा पनि लुम्बिनीले विराटनगरलाई १२ रनले पराजित गरेको हो।

लिग चरणमा तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा छनोट भएको विराटनगरले मंगलबार जनकपुरलाई हराउदै लुम्बिनीसँगको भेट पक्का गरेको हो। विराटनगरका लागि कप्तान रोहित पौडेल र हुसेन टलट उत्कृष्ट लयमा रहेका छन्।

यता लुम्बिनीका श्रीलंकन लाहेरु मिलान्था पनि उत्कृष्ट लयमा रहेका छन्। उनले ३ सय ८ रन जोडेका छन । कप्तान दिपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन पनि लुम्बिनीको उपाधि लक्ष्यमा महत्वपूर्ण बन्न सक्छ।

काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ टोलीको सहभागी प्रतियोगितामा थियो।

विजेताले ५५ लाख पाउने छ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ। यसैगरी तेस्रो हुनेले १० लाख र चौंथोले ५ लाख पाउने छ।

यस्तै, प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्। इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *