विमान दुर्घटनाको छानविन गर्न बनेको आयोगमा को-को छन्?
काठमाडौं। सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रीपरिषद्को आकस्मीक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो।
आयोगका सदस्यहरुमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् भने सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका छन्।
आयोगलाई दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन ४५ दिन भित्र बुझाउन निर्देशन दिइएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
बैठकले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ भने आफन्तलाई यकिन जानकारी दिन कल सेन्टर स्थापना र आवश्यक सहजीकरणको व्यवस्था मिलाउने निर्णय भएको मन्त्री पौडेलले बताए। त्यस्तै बैठकले दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको पौडेलले जानकारी दिए।
मन्त्रीपरिषद्ले घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको र दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।







डिसी नेपाल







Facebook Comment