नागरिकता लिएपछि रवि लामिछानेले फिर्ता गरे पासपोर्ट

काठमाडौं। रवि लामिछानेले पुनः नागरिकता लिएपछि राहदानी फिर्ता गरेका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिए लगत्तै उनले निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी राहदानी विभागमा पुगेर फिर्ता गरेका हुन्।
उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए।
‘उहाँ (रवि लामिछाने)ले अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर नेपाली नागरिकताको प्रमाणपत्र आज लिनुभएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जानकारी दिए।
अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्री पद खारेज गरिदिएको थियो। साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए।
रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुनः चयन गरिसकेको छ।
सर्वोच्चको सो आदेशको भोलिपल्ट हिजो शनिबार परेको र आज आइतबार कार्यालय समय सुरु भएसँगै लामिछाने नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए।
Facebook Comment