पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शोहरु मेरो भ्वाइस र मेरो डान्स युनिभर्स अमेरिकाबाट शुरु

डिसी नेपाल
१६ माघ २०७९ १०:१६

न्यूयोर्क । विश्वभरका नेपाली गायन र नृत्यका प्रतिभाहरुको प्रतिष्पर्धा हुने पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट विधिवत शुरु भएको छ।

इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुबै शोहरुको संसारभरका लागि पाहिलो अडिसनको फाउडेशनका अध्यक्ष डिल्ली अधिकारीले एक भव्य समारोहबीच जनवरी २८ शनिवार अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा उद्घाटन गरेका थिए।

अमेरिकाका र क्यानडाका विभिन्न शहरहरुबाट कोलम्बसमा भेला भएका प्रतिष्पर्धीहरु उनीहरुका आफन्तहरुसहित स्थानीय नेपालीभाषी समुदायको उपस्थितिमा उद्घाटन भएका दुबै शोहरुको पहिलो अडिसन जनवरी २९ आइतवार साँझ सकिएको छ।

अमेरिका र क्यानडाका गरी गायनमा एकसय ८७ र नृत्यमा ७६ प्रतिष्पधीहरुले दरखास्त दिएको यो संसारकै पहिलो अडिसनहरुमध्ये गायन विधामा सर्बाधिक अंक ल्याउने १५ प्रतियोगीहरु साइटलेस अडिसनका लागि नेपालको राजधानी काठमाडौंमा प्रतिष्पर्धा गर्न पाउने गरी छनौट भएका छन्।

डान्सको लागि भने अर्को अडिसन अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा फेब्रुअरी ५ तारिकका दिन तय भएकोले सो अडिसनबाट समेत गरी टप १२ छनौटी गरी नेपालको साइटलेस अडिसनका लागि पठाइने आयोजक संस्था फाउण्डेनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए।

मेरो भ्वाइस युनिभर्समा अमेरिकाबाट छानिने १५ उत्कृष्ठ प्रतियोगीहरुमा ओहायो राज्यको सिनसिनाटी शहरका टेक दुधराज, टेक्सासबाट मोनरथ तिवारी, कोलम्बसबाट तारा तिवारी, ओहायो पटसकलाबाट सागर सुबेदी, क्लिभल्याण्डबाट मोनी दियाली, पेन्सिलभेनियाबाट जीवन गुरुङ, केन्टकीबाट मन्जु लामा, केन्टकीकै राजेश सुब्बा, न्यू ह्याम्सायरबाट मनिष हुमागाईं, केन्टकीबाट प्रनिम राई, आहायोबाट टेक ढुंगेल, एक्रोनबाट किस्सन भुजेल, इरी पेन्सिलभेनियाबाट नैन मंगर, भर्मण्ट मोन मंगर र योर्क सिटीबाट सिद्धान्त आले छानिएका छन्।

अमेरिका र क्यानडाको लागि भ्वाइसमा संगीतकार तथा गायक केशव पौडेल, गायिका नलिना चित्रकार र गायक अर्जुन रसाइली र डान्सको लागि नायक दिलीप रायमाझी, नृत्य प्रशिक्षक शंकर विसी र नृत्य प्रशिक्षक नरमान राई निर्णायक मण्डलमा थिए।

उद्घाटनका अवसरमा अध्यक्ष अधिकारीले विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय प्रथम अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शुरु गर्दा आफूलाई गर्व लागेको बताए।

नेपालभित्र र संसारको जुनसुकै कुनैमा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्नु हुने सम्पूर्ण नेपालीभाषी समुदायका लागि यी दुई रियालिटी शोहरुले उपयुक्त अवसर दिने उनले बताएका थिए।

अध्यक्ष अधिकारीका अनुसार, दुबै शोमा प्रथम हुनेहरुलाई एक एक करोड नेपाली रकम पुरस्कार दिइने छ। उनले यति ठूलो धनराशी पुरस्कार भएको नेपाली रियालिटी शो यो नै पहिलो भएको पनि बताए।

‘छरिएर रहेका नेपाली मूलका अर्थात् नेपालीभाषीहरुका बीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपालीभाषी प्रतिभाहरुलाई जहाँ बसे पनि आफ्नो संस्कृतिमा गर्व गर्न सक्ने अबसर दिन सकियोस् भन्ने भावनाले यी रियालिटी शोहरु आयोजना गरिएको जानकारी गराउँदा गर्वको अनुभूति भएको छ’ उनले भने,‘ संसारभरका नेपालीहरुको नेपाली संस्कृति र सांस्कृतिक पहिचानलाई संरक्षण, सम्बर्धन र उत्थान गर्नु फाउण्डेशनको मूलभूत उद्देश्य हो। नेपाली जातिप्रतिको यही भावनालाई एउटै मालामा गाँस्न सकियो भने हाम्रो सांस्कृतिक पहिचान पुस्ता पुस्तासम्म पनि जीवित राख्न सकिन्छ भन्ने विश्वास लिएका छौं।’

अमेरिकामा गैरनाफामुलुक समाजसेवी संस्थाका रुपमा दर्ता भएको यो फाउडेशनलाई अधिकारीसहित नेपालीभाषी भुटानी युवा व्ववसायीहरुले सञ्चालन गरिरहेका छन्।

नेपाली भाषा, संस्कृति, चाडपर्व र रीतिरिवाजको अधिकार खोज्दा भुटानबाट लखेटिएर आफ्नौ पितृभूमि नेपालमा शरणार्थी जीवन विताउनु परेकोले संसारको जुनसुकै कुनामा जुनसुकैरुपमा पुगे पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई पुस्तौं पुस्तासम्म अघि बढाउन लागिपरेको बताएर अध्यक्ष अधिकारीले सो उद्घाटन समारोहमा उपस्थित नेपाली भाषी समुदाय र प्रतिष्पर्धीहरुलाई हौशला बढाएका थिए।

कार्यक्रममा सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसनका प्रमुख संरक्षक तथा ओहायोमा प्रतिष्ठित नेपाली चिकित्सक डा.दामोदर पौडेलले प्रवासमा नेपाली कला संस्कृतिको उत्थान र संसारभरका प्रतिभाहरुलाई एकै प्लेटफर्ममा प्रतिष्पर्धाको मौका दिने फाउण्डेसनको कामको सरहना गरेका थिए। उनले फाउण्डेसन मर्दा र पर्दाको साथीसमेत भइसकेको भन्दै प्रसंसा गरे।

फाउण्डेसनका प्रवक्ता केशब आचार्यका अनुसार, अमेरिकाका र क्यानडावाहेक विश्वका अन्य मुलुकका लागि रजिष्ट्रेशनको अन्तिम मिति यही जनवरीको ३१ तारिकसम्म राखिएको छ भने युरोपको अडिसन बेल्जियममा फेब्रुअरी ११ र १२ मा हुने छ।

उनले सबै प्रतियोगीहरु नेपाली मूलका हुनु अनिवार्य भएको बताए। त्यसैगरी प्रतियोगीहरु नेपालीभाषी हुनुपर्ने र गैरनेपालीभाषीलाई यो प्रतियोगितामा समावेश नगरिकने पनि बताए ।

फाउण्डेसनले दुबै प्रतियोगिताका लागि प्रतियोगीको उमेर १८ बर्ष पुगेको हुनुपर्ने, अडिसनको समयमा अडिसनस्थलमा नै प्रतियोगीको उमेर खुलेको आधिकारिक परिचयपत्र देखाउनु पर्ने, दुबै प्रतियोगिताका प्रत्येक इपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावनाको प्रस्तुतिबाट शुरुवात गरिने छन्।

प्रत्येक इपिसोडमा नेपाली कला र सांस्कृतिक क्षेत्रका बरिष्ठ एवं मूर्धन्य व्यत्तित्व एवं कलाकारहरुको सम्मान गरिने, शोमा प्रस्तुत गरिने सबै प्रस्तुतिहरु नेपाली कला र संस्कृतिसंग सम्बन्धित हुनै पर्ने, यदि त्यसो भएको नपाइए त्यस्तो प्रस्तुतिलाई फाउण्डेशनको मिसन र भिजनविपरीत स्वार्थको द्वन्द्व(कन्फ्लिक्ट अफ इन्टरेष्ट) का रुपमा लिइने छ र प्रस्तुतिबाट हटाइने, अडिसनहरुबाट छनौटमा परी अमेरिका, क्यानडा, युरोप, थाइल्याण्ड, अष्ट्रेलिया, दुवई र भारतबाट प्रस्तुतिका लागि नेपाल जान पाउने सबै प्रतियोगीहरुको यात्रा खर्च फाउण्डेशनले नै भुक्तानी दिने, टप ४० भित्र पर्ने प्रतियोगीहरुका लागि खाना र होटल खर्चको व्यबस्था गरिने, नेपाल र भारतबाहेक अरु देशबाट प्रतियोगिताका लागि नेपाल जाने प्रतिष्पर्धीहरुका लागि आवासको व्यबस्था गरिने छ । रासस




प्रतिक्रिया

One thought on “पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शोहरु मेरो भ्वाइस र मेरो डान्स युनिभर्स अमेरिकाबाट शुरु

Leave a Reply to shubham kumar Cancel reply

Your email address will not be published. Required fields are marked *