आयुर्वेद क्याम्पसमा सहमति, खुल्यो ताला

डिसी नेपाल
२१ फागुन २०७९ १८:५९

कीर्तिपुर। आयुर्वेद क्याम्पसका विद्यार्थीलाई छ महिनासम्म नरदेवी अस्पतालमा इन्टर्नसिप गराइने सहमति भएपछि कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा लागेको ताला खुलेको छ।

विद्यार्थीहरूले कीर्तिपुरस्थित क्याम्पसमा भौतिक संरचना अपर्याप्त रहेकोे भन्दै नरदेवी अस्पतालमा इन्टर्न गर्न दिइनुपर्ने माग गरेका थिए।

साथै कीर्तिपुर क्याम्पसमा विद्यार्थीलाई सिकाउन पुग्ने गरी आवश्यक बिरामी सङ्ख्यासमेत नभएकाले दक्ष आयुर्वेदका चिकित्सक उत्पादनसमेत नहुने जिकिर उनीहरूको थियो। विद्यार्थीका मागलाई क्याम्पस प्रशासनले सम्बोधन नगरेपछि नौ दिनअघि उनीहरूले तालाबन्दी गरेका थिए।

यसै क्रममा आज आन्दोलनरत विद्यार्थी, क्याम्पस प्रशासन र मेडिकल काउन्सिलसमेतको बैठकमा विद्यार्थीको मागअनुरुप छ महिना नरदेवी आयुर्वेद अस्पतालमा इन्टर्नसिप गर्न पाउने सहमति भएको विद्यार्थी आन्दोलनका संयोजक डा सुनिल भुसालले जानकारी दिए।

“एक इन्टर्नसिपका लागि कम्तीमा दुई सय शय्याको आयुर्वेद अस्पताल चाहिन्छ र त्यसमा कम्तीमा एक सय शय्या बिरामीले भरिएको हुनुपर्छ। तर क्याम्पस प्रशासनले हामीलाई २५ जना मात्र बिरामी हुने अस्पतालमा पूरै इन्र्टनसिप गराउन थाल्यो”, उनले भने, “यसबाट परीक्षामा उत्तीर्ण भएको तर १० जना बिरामीको उपचारमा संलग्न नभएकालाई आयुर्वेद चिकित्सको प्रमाणपत्र दिनुपर्ने भयो।”

समस्या समाधानका लागि आज आन्दोलनरत विद्यार्थी, क्याम्पस प्रशासन र नरदेवी अस्पताल प्रतिनिधिबीच बैठक भएको थियो। बैठकमा आयुर्वेद क्याम्पसका विद्यार्थीलाई कम्तीमा छ महिना नरदेवी आयुर्वेद अस्पतालमा इन्टर्नसिप गर्न दिइने सहमति भएको थियो।

सहमतिअनुसार आयुर्वेद चिकित्साको सैद्धान्तिक तह उत्तीर्ण गर्ने ३० विद्यार्थीमध्ये १५ जनाले नरदेवी क्याम्पसमा इन्टर्न गर्ने छन् भने १५ जनाले कीर्तिपुरमै इन्टर्नसिप गर्ने छन्।

त्यसलाई छ महिनापछि अदलीबदली गरी सुरुमा नरदेवीमा गरेकाका लागि कीर्तिपुरमा र सुरुमा कीर्तिपुरमा गरेकालाई नरदेवीमा इन्टर्नसिप गराइने छ।

यसअघि नरदेवी आयुर्वेद अस्पतालमा भौतिक संरचना नपुग्ने भन्दै विद्यार्थीलाई कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद अनुसन्धान केन्द्रमा मात्र इन्टर्नसिप गर्न दिने गरिएको थियो।

बैठकमा सहभागी नेपाल आयुर्वेद मेडिकल काउन्सिलका अध्यक्ष डा सन्तोषकुमार ठाकुरले कीर्तिपुुरस्थित आयुर्वेद क्याम्पसलाई एक सय शय्याको सुविधासम्पन्न अस्पतालमा विकास गर्नसके इन्टर्नसिपको समस्या निराकरण हुने बताए।

विद्यार्थी संयोजक भुसालले भने नरदेवी अस्पताल स्थापनाको एक सय वर्ष पुग्दा पनि एक सय शय्यामा सीमित हुनु र आयुर्वेद क्याम्पसले स्थापनाको ५० वर्ष पार गर्दा पनि ५० शय्यामै सीमित रहनुले आयुर्वेद चिकित्सालाई बेवास्ता गरिएको देखाउने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *