‘शल्यक्रियापछि आँखाले देखेपछि डाक्टर भए भगवान्’

डिसी नेपाल
२३ फागुन २०७९ १३:२२
652
Shares

टक्सार। भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–५, दोभानेका ७२ वर्षीय लाक्पा शेर्पाले डाक्टरलाई भगवान् नै मान्ने। कारण थियो गाउँपालिकामा चलेको तीन दिने आँखा शल्यक्रिया शिविरमा उनले पाएको सेवा । शेर्पाले मोतियाविन्दु भएको आँखाको शल्यक्रिया गराए।

विगत दुई वर्षदेखि देब्रे आँखामा मोतियाविन्दु भएर आँखा देख्न छाडेका शेर्पाले पुनः पहिलाको जस्तै आँखाले देख्न थालेपछि भने, “मेरो आँखा पुनः पहिलेको जस्तै अवस्थामा देख्ने बनाइदिने डाक्टर मेरा लागि त भगवान् नै भए नि !”

आर्थिक समस्या र जिल्ला बाहिर गएर उपचार गराउन नपाउने आँखाका रोगीका लागि गाउँमै आएको शिविर बरदान सावित भएको छ। वृद्ध शेर्पा मात्र होइन धैरै वृद्धवृद्धाले आँखाको ज्योति शिविरबाट पाए। लाक्पाले आफ्नो उपचारमा खटेका डाक्टरलाई अँगालो मार्दै धन्यवादसमेत दिए।

साल्पासिलिछो गाउँपालिकाको केन्द्र चौकीडाँडाको जाल्पा माविमा सञ्चालन भएको तीनदिने बृहत् निःशुल्क शिविरमा शल्यक्रिया गराएका रोगीले पहिलाकै जस्तो आँखा देख्न थालेपछि खुसीको सीमा नै नरहेको नेपाल नेत्रज्योति सङ्घ भोजपुरका कोषाध्यक्ष सम्झना प्रधानले बताइन्।

नेपाल नेत्रज्योति सङ्घ आँखा तथा नाक, कान उपचार केन्द्र भोजपुरको आयोजना तथा गाउँपालिकाको सहयोगमा सञ्चालित शिविरमा विराटनगर आँखा अस्पताल रानीको विशेषज्ञ स्वास्थ्यकर्मीले सेवा दिएका थिए। डाक्टर आशिष कर्मचार्य लागायतको टोलीले शिविरमा प्राविधिक सहयोग गरेको हो। भोजपुर जस्तो दुर्गम जिल्लाको ग्रामीण क्षेत्रमा पुगेर सेवा दिन पाउँदा आफूहरुलाई पनि मानव सेवाको काम गरेजस्तो महसुस भएको शिविरमा खटिएका डाक्टर आशिष कर्मचार्यको भनाइ छ।

डा कर्मचार्यले भने, “हामी वृद्धवृद्धा आमाबुबालाई गाउँमा आएर शल्यक्रियासहित पुनः पहिलाको अवस्थामा नै ज्योति फर्काउन सफल भयौँ, यो नै ठूलो सेवा हो।” गाउँमा चलेको शिविरमा दुई सय ६३ जनाले आँखाको उपचार पाउनुभयो भने ५९ जनाको मोतिबिन्दु र सात जनाको सामान्य शल्यक्रिया भएको छ।

नेपाल नेत्रज्योति सङ्घ आँखा तथा आँखा, कान उपचार केन्द्र भोजपुरले जिल्लाका ग्रामीण क्षेत्रमा सुरु गरेको गाउँ केन्द्रित शिविर प्रभावकारी भएको केन्द्रका प्रमुख विजय तामाङले बताए। उनले जिल्ला सदरमुकाममा समेत शिविर सञ्चालनका लागि तयारी सुरु गरिएको जानकारी दिए। – रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *