छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु

डिसी नेपाल
२५ फागुन २०७९ १२:२३

काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। काठमाडौं, शंखरापुर नगरपालिका-९ ईन्द्रायणीस्थित सडकमा बा.५ ख २४१४ नम्बरको टिपरले बा.९४ प ४४९८ र बा.८२ प ८३५७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा बा.९४ प ४४९८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-७ साँखु घर भएका ५० वर्षीय पवन लाल श्रेष्ठ र बा.८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने २२ वर्षीय हरि खड्का रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका पवन लालको नेपाल मेडिकल कलेज अत्तरखेलमा र हरिको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकी बा.९४ प ४४९८ नम्बरको मोटरसाइकलमा सवार १ जना महिलाको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गुलरीया बजारस्थित सडकमा सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाटा नगरपालिका-७ बस्ने २५ वर्षीय मनिष चौधरीको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार चालकसमेत २ जनाको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरी, राजबिराज नगरपालिका-११ पम्प नहरस्थित सडकमा स. ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक तिलाठी कोईलाडी गाउँपालिका-२ लौनिया बस्ने ५० वर्षीय श्याम मण्डलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी सप्तरी, बिष्णुपुर गाउँपालिका-१ जमुनीस्थित सडकमा ना.३ स ९६३० नम्बरको अटो अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार खडक नगरपालिका-८ बिसनपुर बस्ने ४० वर्षीया आमना खातुनको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका अटोमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महोत्तरी, औरही नगरपालिका-१ स्थित सडकमा ‘अन टेस्ट’ मोटरसाइकलको ठक्करबाट साईकलयात्री गौशाला नगरपालिका-१० भरतपुर बस्ने ४५ वर्षीया राजकुमारी मुखियाको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका साइकल तथा मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार मोटरइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ।

रोल्पा, त्रिवेणी गाउँपालिका-२ दहबनमा रा.१ त १७२५ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सल्यान कुमाक गाउँपालिका-६ बस्ने ३२ वर्षीय टोप लाल बिकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका ट्याक्टरमा सवार ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषा, सबैला नगरपालिका-१२ बरकुर्वास्थित सडकमा स.३ प १६४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक गणेशमान चारनाथ नगरपालिका-३ बस्ने ४० वर्षीय जगदिश सदाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चोकस्थित सडकमा प्रदेश २-०३-००४ प ७९३० नम्बरको मोटरसाइकल र ना.२५ प ४००३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा प्र.२-०३-००४ प ७९३० नम्बरको मोटरसाइकल चालक बारा परवानीपुर गाउँपालिका-४ चैनपुर बस्ने २६ वर्षीय सुरज सराफको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको एल एस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ना.२५ प ४००३ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलनचोकस्थित सडकमा से.१ ह २६३९ नम्बरको अटो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा अटोमा सवार गौरीगंगा नगरपालिका-४ बस्ने ८५ वर्षीय तिलानन्द जोशीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। अटो र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *