खेत मासेर केरा खेतीमा लागेका नरेन्द्र भन्छन्- धान, गहुँ भन्दा आम्दानी राम्रो छ

डिसी नेपाल
२३ वैशाख २०८१ २३:२७
324
Shares

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा जमिनमा केराखेती लगाएका छन्। उनले दशवर्ष अघिदेखि केराखेती सुरु गरेका हुन्। अहिले मुख्य आम्दानीको स्रोत केरा खेती बनेको छ । सुरुमा धान, गहुँ जस्ता अन्नबाली लगाउने खेत मासेर उनले केरा रोपेका हुन्।

“सुरुमा तीन कट्ठा जग्गामा केरा लगाएँ । त्यसबेला बीउ पाइँदैनथ्यो, केराको बोटको गाना लगाउने गरिन्थ्यो,” उनले भने, “उत्पादन राम्रो भयो, त्यसपछि खेतीको क्षेत्रफल बढाएँ ।”

धान, गहुँ भन्दा फाइदा हुन थालेपछि अन्नबाली छोडेर उनी व्यावसायिक केरा खेतीमा लागेका हुन्। तिलाचौरमा उनको दुई बिघा जमिन छ। त्यसमध्ये डेढ बिघामा केरा खेती गरेका छन्। केरा खेतीमा नरेन्द्र र उनको श्रीमती आफैं खटिन्छन्।

“धान, गहुँ भन्दा आम्दानी राम्रो छ। केरा स्थानीय बजारमा सहजै बिक्रि हुने गरेको छ,” उनले भने, “गोडमेलमा परिवारकै मानिस लाग्छौँ। आवश्यक परे कहिले मजदुर पनि लगाउने गरेका छौँ।”

उत्पादित केरा यहाँको महेन्द्रनगर बजारमा बिक्री गर्ने गरिएको छ। केरा खेतीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको नरेन्द्रको भनाइ छ। उनको दुई छोराछोरीसहित चार जनाको परिवार छ। केरा खेतीबाट कमाएकै पैसाले उनले जेठी छोरीको विवाह गरिदिए।

कान्छा छोरा रोशनलाई इन्जिनियर बनाउने उनको सपना छ। गाउँकै युवा वर्ष माध्यमिक विद्यालयबाट एसएसलसी परीक्षा उत्तीर्ण गरेपछि छोरा रोशनलाई तीन वर्षदेखि पोखरामा इन्जिनियरिङ अध्ययन गराइरहेका छन्।

“छोराले आंशिक छात्रवृत्तिमा नाम निकाल्यो । खेतीबाट हुने आम्दानीले छोराको बस्न, खान र पढाइको खर्च जोहो गरिरहेका छौँ,” नरेन्द्र भन्छन्, “वार्षिक रु दुई अढाई लाख उसका लागि छुट्याउनुपर्छ ।”

उनले बाख्रा र भैँसी पनि पालेका छन्। पशुपालनबाट हुने आम्दानीले घरखर्च त्यहाँबाट व्यवस्थापन हुने गरेको उनले बताए। वर्षौंदेखि केरा खेतीमा लागे पनि अहिलेसम्म सरकारबाट पाउने अनुदान तथा बीउविजन, मलखादमा केही नपाएको उनको गुनासो छ। कञ्चनपुरमा एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा केरा खेती गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *